‘समाजवादी केन्द्र’ निर्माणबारे के भन्छन् केपी ओली ?

‘समाजवादी केन्द्र’ निर्माणबारे के भन्छन् केपी ओली ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् ।

बुधबार एमाले बागमती प्रदेशस्तरी प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच समाजवादी केन्द्र निर्माणका विषयमा भइरहेको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरु भएको बताएका हुन् ।

‘आज तपाईहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ । यो त्यति सफल हुँदैन,’ ओलीले भने ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो ।

मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईबीच पनि समाजवादी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो । पार्टी एकता नभई समाजवादी केन्द्र बनाउन आफूहरू लागिपरेको उनीहरूको भनाइ थियो ।

ओलीले कसैको नाम नलिई सैद्धान्तिक पूर्वाग्रह राख्ने मानिस के बोल्छन्, के गर्छन् भन्ने ठूलो विषय नभएको बताए । उनले आमाबाबु, छोराछोरी, श्रीमान् श्रीमती मार्नेहरु पनि देखिएका छन् भन्दै यस्तो राजनीतिले कतै नपुग्ने बताए ।

साथै उनलेयो गठबन्धन एक दिन आफैं तोडिने दाबी गरे । ‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उनले भने ।

ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए ।

केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए । उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए । उनले पार्टीमा गुटबन्दी अब सैह्य नहुने पनि चेतावनी दिए । गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।