को बन्ला बाबुराम भट्टराईले खोल्ने नयाँ पार्टीको अध्यक्ष ?

को बन्ला बाबुराम भट्टराईले खोल्ने नयाँ पार्टीको अध्यक्ष ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)बाट कारबाहीमा परेका डा. बाबुराम भट्टराई नयाँ दल खोल्ने तयारीमा जुटेका छन् ।

जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर अध्यक्ष उपेन्द्र यादव र तत्कालीन संघीय परिषद अध्यक्ष डा. भट्टराईले अलगअलग बैठक बोलाएपछि जसपा विभाजनको मुखमा पुगेको थियो ।

यादव पक्षले पर्साको बीरगन्जमा केन्द्रीय कार्यकारिणी बैठक राखेको थियो भने बाबुराम पक्षले काठमाण्डुको जडिबुटीस्थित एक पार्टी प्यालेसमा राखेको थियो । ४९९ सदस्यीय केन्द्रीय समितिमा यादवको पक्षमा ३०७ जनाले हस्ताक्षर गरेका छन् ।

उपेन्द्र यादव पक्षमा २० जना कार्यकारिणी समितिका सदस्य उपस्थित थिए भने अध्यक्ष भट्टराईको पक्षमा बाबुराम भट्टराई, हिसिला यमी, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह र रमेश यादव गरी सात जनामात्र थिए ।

पाँच जना कार्यकारिणी सदस्यहरु हेमराज राई, भक्तबहादुर शाह, रामनरेश राय यादव, दुर्गा सोव, राजकिशोर यादव र अमृता अग्रहरी तटस्थ बसे । सो बैठकले बाबुरामसहितका नेताहरुलाई पार्टी विभाजनको आरोप लगाउँदै पार्टीबाट निष्काशन गरेको थियो ।

बाबुराम अहिले नयाँ दल खोल्नेगरि छलफलमा जुटेका छन् । उनी समाजवादी केन्द्र बनाएर अघि बढ्न चाहन्छन् । यसको लागि उनले आफ्नो सक्रियता बढाएका छन् । यो बीचमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगसम्म भेटवार्ता गरेका छन् ।

अब बन्ने नयाँ दलको नेतृत्वमा भने उनी नरहने बुझिएको छ । उनले आफू कार्यकारी पदमा नबस्ने भन्दै अध्यक्षमा आफ्नी पत्नी हिसिला यमीलाई अघि सार्ने तयारी भएको स्रोतको दाबी छ । उनी आफू पार्टी अध्यक्ष बन्नुभन्दा पनि अभिभावकीय भूमिका रहन चाहन्छन् ।

अध्यक्षमा उनले महिन्द्र राय यादव, गंगा श्रेष्ठलाई पनि अघि सार्न खोजेका छन् । तर, महिलालाई पनि पार्टी अध्यक्ष बनाएर अघि बढ्दा राम्रो सन्देश जाने भन्दै उनले पूर्वमन्त्रीसमेत रहेकी पत्नि हिसिलालाई नै अध्यक्ष बनाउनेगरि तयारी थालेका छन् ।

उता, जसपाको कुनै पनि गुटमा नलागी तटस्थ बसेका तर बाबुरामसँग नजिक रहेका राजकिशोर यादव पनि अध्यक्ष बन्नको लागि ईच्छुक देखिएका छन् । तर, उनले आफूहरुलाई खुलेर साथ नदिएको भन्दै बाबुराम पक्षधर नेताहरुले अहिले अध्यक्ष बनाउन नहुने भन्दै लविङ थालेका छन् ।