यस्तो छ एमालेको नजरमा अर्थतन्त्र संकटमा पर्नुका ६ कारण

यस्तो छ एमालेको नजरमा अर्थतन्त्र संकटमा पर्नुका ६ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले नेपालको अर्थतन्त्र धरापमा पर्नुका ६ कारण औल्याएको छ । अनलाइनका सम्पादकहरूसँग नेकपा एमाले प्रचार विभागले काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले विभिन्न ६ कारणले नेपालमा आर्थिक संकट निम्तिएको निष्कर्ष निकालेका हुन् ।

उनले औल्याएका ६ कारणमा  गठबन्धन सरकारको गलत नीति, शोधनान्तर अवस्था, मुद्रा स्फिति, सेनिटरी प्याडसम्बन्धी नीति, गठबन्धन सरकार आएपछि रेमिट्यान्स घट्नु र  गरिबी तीव्र गतिमा बढ्नु रहेका छन् ।

उनले औल्याएका ६ कारणमध्ये मुख्य रुपमा पाँच दलीय गठबन्धन सरकारको गलत नीतिलाई औँल्याएका छन । पोखरेलले अर्थतन्त्र बिग्रिनुमा कोभिड महामारीभन्दा गठबन्धन सरकार दोषी रहेको बताएका हुन् । गठबन्धन सरकार विकास खर्च गर्न असफल भएको उनको ठहर छ ।

‘गठबन्धन सरकार आएपछि विकास खर्च कमजोर भयो’, उनले भने ‘कोभिड महामारीभन्दा पनि कमजोर अवस्था छ विकास खर्चको । सरकारले खर्च गर्नै सकेन ।’

पोखरेलले दोस्रो कारणका रुपमा शोधनान्तर अवस्थालाई औंल्याएका छन्। ’हामीले शोधनान्तर अवस्था ७० देखि ८० अर्ब नाफामा छाडेका थियौँ’, उनले भने, ’अहिले गठबन्धनले शोधनान्तर घाटा तीन खर्ब पु¥याइसकेको छ।’

पोखरेलले गठबन्धन सरकार आएपछि रेमिट्यान्स पनि घटेको अर्को कारण दिएका छन्। ‘अहिले रेमिट्यान्स पनि घटेको छ। अर्कोतिर नेपाली मुद्रा पनि बजारमा अभाव छ। नेपाली पैसा कहाँ गयो ? सरकार जवाफ दिँदैन । नेपाली रूपैयाँ कालोधनवालाले कोठामा थन्क्याएर राखे। गठबन्धन सरकारले क्रोनी क्यापिटलिजमको नीति लिएर दलालको पक्षपोषणमा आफूलाई तल्लीन गरेको छ,’ उनले भने ।

पोखरेलले सेनिटरी प्याडसम्बन्धी यो सरकारको नीतिको पनि कडा आलोचना गरे। ‘आयातित सेनिटरी प्याडमा कर घटाइयो तर नेपालमा उत्पादन हुने प्याडको कच्चा पदार्थमा कर बढाइयो’, उनले भने, ‘आन्तरिक उत्पादनलाई निरुत्साहन गर्ने सरकारको नीति पनि अर्थतन्त्र संकटमा पार्ने कारण बनेको छ।’

उनले अर्को कारणका रुपमा मुद्रा स्फितिलाई पनि लिएका छन् । ‘तेस्रो कारण हो, मुद्रा स्फिति, हाम्रो सरकार हुँदा यो ३ प्रतिशतमा थियो । तर हामीले छाडेपछि अहिले बढेर ८ प्रतिशत पुगिसकेको छ ।’

उनले गठबन्धन सरकार आएसँगै गरिबी पनि तीव्र गतिमा बढेको तर्क गरे । एमालेको सरकारले १७ प्रतिशतमा झारेको गरिबी झनै उकालो लाग्न थालेको उनले बताए ।

‘नेपालमा एमालेको सरकारका पालामा गरिबी १७ प्रतिशतमा झरेको थियो’, उनले भने, ‘तर अहिले गरिबी पनि बढ्दैछ छ। गरिब उत्पादन र विस्तार गर्ने बाटोमा गठबन्धन सरकारको गलत नीतिले काम गरेको छ।’