काठमाण्डु – आगामी चुनावपछि नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्नबाट रोक्ने वामदेव गौतमले रणनीति बनाएका छन् ।
पछिल्लो समय कम्युनिष्ट एक बनाउने अभियानमा सक्रिय रहेका नेता गौतमले चुनावपछि कुनै पनि हालतमा कांग्रेस नेतृत्वको सरकार बन्न नदिने रणनीति बनाएका हुन् । ‘कम्युनिस्ट बाहेक कुनै पनि पार्टीले देशको विकास गर्न सक्दैनन् । यो देशको विकास गर्न कम्युनिस्ट नै चाहिन्छ,’ नेता गौतमको भनाइ हो यो ।
त्यसैका लागि उनले समाजवादी केन्द्र बनाउने अभियान स्वरुप कम्युनिष्ट नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा विभाजनमा आफ्नो गल्ती रहेको स्वीकारेका छन् त कहिले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर समाजवादी केन्द्रको विषय उठाउने गरेका छन् ।
नेता गौतमले वामपन्थी एकताका लागि भन्दै केहि समयअघि एमाले अध्यक्ष ओली, प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरे । त्यसपछि तत्कालिन नेकपाका पूर्व सचिवालय सदस्यहरुमध्ये एमालेमा नरहेका बहुमत सदस्यसँग सामूहिक भेटवार्ता गरे ।
उनी एमाले नेता विष्णु पौडेलसँग पनि नियमिति सम्पर्कमा रहेको स्रोतले जानकारी दियो । यसरी उनी भरसक ओली र प्रचण्ड मिलाउन लागिपरेका छन् । त्यो सम्भव नभए समाजवादी केन्द्र बनाउने उद्देश्यमा छन् ।
समाजवादी केन्द्रमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित वामदेव हुने सम्भावना देखिएको छ । तर, वामदेव कुनै हालतमा चुनावपछि काँग्रेसलाई सरकारको नेतृत्वमा पुग्न नदिने रणनीतिका साथ लागेका छन् । उनले सार्वजनिक रुपमै यसबारे बोलिसकेका छन् ।
काँग्रेसको इतिहास हेर्दा सो पार्टीबाट देशको विकास सम्भव नभएको र जनताले सुखी र खुशी हुन नसक्ने र कम्युनिस्ट एकतामै जनताको अपेक्षा र भरोसा रहेको उनको तर्क छ । पछिल्लो समय काँग्रेसलाई सत्तामा पुग्न नदिने भन्दै अभियान नै चलाएका उनै गौतमले विगतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा मतदान गर्न आव्हान गरेका थिए ।
अब भने उनी काँग्रेसका कुनै पनि नेतालाई प्रधानमन्त्री बन्न नदिने अभियानमा छन् । त्यसका लागि चुनावसम्म गठबन्धन तोड्ने उनको रणनीती रहेको स्रोतले जानकारी दियो । नेता गौतम अहिले जसरी लागेका छन्, त्यसको परिणाम वामपन्थी एकता र चुनावमा काँग्रेसलाई धक्का दिने खालको आउला त ? नेपाली राजनीतिक वृतमा यसको व्यापक चर्चा हुन थालेको छ ।
केपी ओलीले पछिल्लो समय वामपन्थी सरकार निर्माण गर्ने गरी तालमेल वा एकताको आव्हान गरिसकेका छन् । उनको यो आव्हान गौतमसँगको भेटपछि हो ।
नेता गौतम कांग्रेसलाई हराएर वामपन्थी एकता निर्माणगर्ने प्रयासमा लागिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड भने समाजवादी केन्द्र बनाउने र काँग्रेससँग बढीभन्दा बढी सिटको दाबी गरेर चुनावी तालमेल गरेर जाने रणनीतिमा छन् । प्रतिनिधिसभामा सयभन्दा बढी सांसद जिताएर समाजवादी केन्द्रलाई निर्णायक शक्ति बनाउने गरी प्रचण्ड अघि बढेका छन् ।




प्रतिक्रिया