मलाई उडाउनेको भान्सा सस्तो होस, शुभकामना : प्रदीप ज्ञवाली

मलाई उडाउनेको भान्सा सस्तो होस, शुभकामना : प्रदीप ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफुलाई ट्रोल बनाउँदैमा खाद्यान्नमा भएको मूल्यवृद्धि सस्तो नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता ज्ञवालीले मूल्यवृद्धिको मारमा परेका जनतालाई सरकारले राहत दिने र मूल्य नियन्त्रणमा लाग्नुको साटो आफुलाई ट्रोल गर्ने र विषयान्तर गर्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले आफुले अमेरिकामा खाना खाएको फोटो राखेर ट्रोल बनाएको समेत गुनासो गरे । ‘अमेरिकामा खाना खाएको मेरो फोटो राखेर उहाँहरूको भान्सा सस्तो होस, मेरो शुभकामना छ । तर, गम्भीर विषयलाई पन्छाएर हामीले कता ध्यान दिइरहेका छौं भन्ने चिन्ताको कुरा हो,’ उनले भने ।

केही दिनअघि मूल्यवृद्धिको विषयमा चर्चा गर्ने क्रममा ज्ञवालीको एउटा भनाइमाथि ट्रोल गरिएको थियो । उनले महंगीका कारण आफ्नो भान्सामा समेत दुईथरि तरकारी पकाउन नसक्ने स्थिति भएको बताएका थिए । तर, ज्ञवालीले विभिन्न परिकारसहित खाना खाइरहेकाे पुरानो तस्बिर भाइरल बनाइएको थियो ।

नेता ज्ञवालीले पछिल्लो एक वर्षमै खाद्यान्नमा ४० प्रतिशत मूल्यवृद्धि भएको बताए । ‘यतिबेला मध्यमवर्गलाई पनि आच्छुआच्छु परिरहेको छ । बहुआयामिक गरिबीले आक्रान्त नागरिकको संख्या ठूलो छ । थोरै भए पनि उनीहरूको लागि के गर्न सकिन्छ भन्ने अहिलेको साझा विषय बन्नुपर्ने होइन ? तर, सरकार विषयान्तर गरेर एम अधिकारी खोजेर बसेको छ,’ उनले भने ।