काठमाण्डु – नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारित गर्न सत्ता गठबन्धन दलबीच सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सतता गठबन्धनको बैठकमा गठबन्धनका शीर्ष नेताहरु नागरिकता विधेयक पारित गर्न सहमत भएका हुन् ।
बालुवाटार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो । यस्तै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द वन्दीसमेत सहभागी थिए ।
नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धनका सबै नेताहरु सहमत भएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । तर उनले आफ्नो पार्टीले भने त्यसमा असहमति जनाएको बताइन् । ‘नागरिकता विद्येयक पारित गर्ने विषयमा गठबन्धनका सबै नेताहरुसँग छलफल भयो । त्यसमा सबैको सहमत हुनुहुन्छ । तर, हामीले त्यसमा सहमत जनाएका छैनौ,’ उनले भनिन् ।
नागरिकता विद्येयक गृहमन्त्री खाँणले आज बस्ने संसद बैठकमा निर्णयार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।




प्रतिक्रिया