काठमाण्डु- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई जन्मदिनको शुभकामना दिएका छन् ।
शनिबार रवीन्द्र मिश्रले समाजिक सञ्जालमार्फत हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै एक दिन राजाको रुपमा देख्न चाहेको बताएका हुन् । ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना,’ उनले फेसबुकमा लेखेका छन् ।
त्यस्तै मिश्रले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा ढिलोचाँडो मुलुक नराम्रो सङ्कटमा फस्ने दावी गरेका छन् । उनले संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने बताए ।
‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयोग गर्ने उद्येश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राखौँ।’, मिश्रले फेसबुकमा लेखेका छन् ।




प्रतिक्रिया