काठमाण्डु – नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने बताएका छन् । आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ ।
बिहीबार काठमाण्डुमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस । स्थानीय तहमा २०० सय सिट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो ।
अबको संसद्को निर्वाचनमा एक सिट चाहीँ आउने सम्भावना छ । केपी ओली जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन् । मैले दोहोर्याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस । यसपटक एमाले शुन्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ ।’
साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए । उनले भने,‘एमालेका साथीहरुलाई म भन्छु–अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोशिस नगर्नुहोस । किताब त छाप्नुभयो । किन पुर्याउनुभएन ? स्कुलमा किताब देखिनँ । तुईन हटाउछु भन्नुभएको थियो, हट्यो त ? तपाईँहरुले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन । यो सरकारले छोटो अवधिबाट देशलाई श्रीलंका हुनबाट बचाईदियो ।’
उनले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गरे । उनले भने,‘राष्ट्रपतिले अहिलेसम्म विद्येयक प्रमाणिकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन् । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीति भन्दा माथि उठ्न सक्नुभएको छैन् । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि दिओस, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस । अविलम्ब विद्येयक प्रमाणिकरण गर्नुहोस ।’
नेता यादवले अहिलेको पाँच दलीय गठबन्धन नेपाली जनताले आवश्यकत्ता महशुस गरेर बनेको सुनाए । उनले भने,‘यो गठबन्धन नेपाली जनताले आवश्यकत्ता बोध गरेर बनेको हो । गठबन्धन आजपनि कायमै छ, भोलि पनि कायम रहन्छ । भोलि पनि यही गठबन्धनको सरकार बन्छ । यसमा जनता ढुक्क हुनुहोस ।’




प्रतिक्रिया