‘मितिनी’ र ‘सोल्टी’ चीनतिर लागे (फोटोफिचर सहित)


काठमाडौँ – नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैँडाका एक जोडी शुक्रबार कार्गो विमानबाट चीन पठाएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गर्नुभयो ।

मन्त्री बस्नेतले उनलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए । यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ । गैँडा हस्तान्तरणपछि विमानस्थलमा संञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरे ।

साथै नेपालमा एक सिङ्गे गैँडा पाइन्छ भन्नेबारेमा मुलुकको पहिचान विश्वमा प्रख्यात हुने र नेपालको पर्यटन व्यवसायमा समेत प्रवद्र्धन हुने उनको भनाइ थियो । चीनको युनी–टप एयरलाइन्सको कार्गो विमानबाट शुक्रबार साँझ लगिएका गैँडा पाँच घण्टा ४५ मिनेटको उडानपछि साङ्घाइ पुग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।

उक्त जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौँ ल्याइएको महानिर्देशक खड्काले बताए । गैँडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य तीन जना वन्यजन्तु प्राविधिक बिहीबार नै चीन गइसकेका छन् ।

दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ । यसअघि पठाइएका गैँडा गोञ्जाउ चिमेलङ सफारी पार्कमा राखिएको छ । सरकारले यसअघि विभिन्न १० मुलुकलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement