काठमाण्डु – नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको पार्टीबाट ५ जना नेताले चुनावमा उम्मेदवार बन्ने तयारी गरेका छन् । भट्टराई नेतृत्वको पार्टीले माओवादी केन्द्रको चुनाव चिन्ह हंसिया हथौडा लिएर निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।
समाजवादी पार्टीबाट अध्यक्ष भट्टराईसहित महेन्द्र यादव, भट्टराई पुत्री मानुषी यमी भट्टराई, गंगा नारायण श्रेष्ठ र भक्तबहादुर श्रेष्ठले प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा देखाएका छन् । प्रदेशमा बावुराम प्रधानमन्त्री हुंदाका उनका पिए विश्वदिप पाण्डले समेत रुची देखाएको बताइन्छ ।
अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २, यादव सर्लाही क्षेत्र नम्बर २, मानुषि काठमाडौं ७, श्रेष्ठले सिन्धुली २ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । जाजरकोटमा माओवादी केन्द्रका प्रभावशाली नेता शक्ति बस्नेत उम्मेदवार बन्ने भएकाले समाजवादीका नेता भक्त बहादुर शाहले प्रदेशबाट लड्ने तयारीमा छन् । त्यस्तै पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभाबाट उम्मेदवार बन्नेमा छन् ।
भट्टराई यसअघि २०७४ को निर्वाचनमा कांग्रेससंग तालमेल गरेर निर्वाचित भएका थिए । सुरुमा बाम गठबन्धनमा सहभागि हुने लगभग निश्चित भएपनि अन्तिममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नमानेपछि भट्टराई बाहिरिएका थिए ।
कम्युनिष्ट पार्टी र माओवादको उपादेयता समाप्त भएको घोषणा गरेका बाबुराम ७ वर्षपछि माओवादीकै चुनाव चिन्हमा उम्मेदवार बन्न तयार भएका छन् ।
भट्टराई र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच एउटै चुनाव चिन्ह, समानुपातिकको साझा सूची र एउटा घोषणापत्र बनाउने भित्रि सहमति भइसकेको छ । दुवै नेताबीच मंसिरपछि पार्टी एकता गर्ने र पार्टीको नाम समेत फेर्ने सहमति भएको स्रोत बताउंछ ।




प्रतिक्रिया