काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र स्थापनाको लागि वाम आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका छन्।
रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले समाजवादको विचारलाई सफल बनाउनका निम्ति वाम आन्दोलनलाई एकीकृत गर्ने प्रक्रिया सुरु भएको बताएका हुन्।
‘चाहे हँसिया हतौडामा चुनावमा लड्ने निर्णय होस् वा चाहे पार्टी एकताका निम्ति संयोजन समिति बनाउने निर्णय होस् यसले कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया सुरु भएको छ,’ उनले भने।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेकपा एकता राष्ट्रिय अभियानले हँसिया हतौडाबाट चुनाव लड्दैछन्। यस्तै नेकपा एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले माओवादीसँग एकताका निम्ति संयोजन समिति बनाउने निर्णय गरेको छ।
समाजवादको आधार निर्माण र कम्युनिष्ट आन्दोलनाई सबल बनाउने नयाँ आधार निर्माण हुन लागेको भन्दै प्रचण्डले त्यस प्रक्रियालाई सार्थक बनाउन अझै मिहिनेत गर्नुपर्ने बताए। ‘अहिले आएका सकरात्मक समाचारले मात्रै पुग्दैन। वामपन्थी शक्तिलाई एकतावद्ध गर्दै समाजवादको आधार निर्माणका निम्ति अझै मिहिनेत आवश्यक छ हाम्रो ध्यान त्यसमै छ,’ प्रचण्डले भने।
‘हामी नेतृत्व पुरानै तरिकाले, पुरानै रुपमा मात्रै अगाडि बढेर अबको क्रान्ति या अबको राष्ट्रको आवश्यकता पूरा हुन सक्दैन,’ प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुविकृत गर्ने, एकीकृत गर्ने काम भइराखेको छ ।’
निर्वाचन पनि संघर्षकै एउटा चरण भएको भन्दै उनले यतिबेला वामपन्थीहरुबीच एकता र ध्रुवीकरण होस् भनेर आफूहरुले प्रयास गरेको बताए । पार्टी एकता संयोजन समिति बनाएर भएपनि वामपन्थी एकताको प्रयास भइरहेको उनको भनाइ थियो ।




प्रतिक्रिया