काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाका अवकाशप्राप्त जर्नेलहरुसँग छलफल गर्दैछिन् ।
उनले आफ्नो सुझाव नसमेटी संसदबाट पुनः पारित भएको नागरिकता विधेयकका विषयमा छलफल गर्न प्रधानसेनापति तथा पूर्व जर्नेलहरुलाई छलफलका लागि शितलनिवास बोलाएकी हुन् ।
प्रतिनिधिसभाले गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो । त्यसको भोलिपल्टदेखि राष्ट्रपति भण्डारीले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छिन् ।
गत साउन २९ गते संसदमा फिर्ता पठाउनुअघि पनि राष्ट्रपति निरन्तर परामर्शमा व्यस्त थिइन्। अहिले पनि त्यो क्रम जारी छ । उनी विधेयक प्रमाणित नगर्ने बरु राजीनामा दिने ‘मुड’मा देखिएको स्रोतको दाबी छ ।
राष्ट्रपति भण्डारीसँग मंगलबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूले पनि भेटघाट गरेका थिए । सरकारले सत्य निरुपण तथा मेलमिलाप विधेयक संसदमा दर्ता गरेपछि विभिन्न देशका राजदूतले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए ।




प्रतिक्रिया