काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरु चुनावी अभियानमा जुटेका छन् ।
निर्वाचन आउँन झण्डै ८० दिन बाँकी रहँदा कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले चुनाव लड्ने निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ ।
गगन थापा
कांग्रेस महामन्त्री गगन थापाले काठमाण्डु क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने तयारी गरेका छन् । यो पटकसहित उनी काठमाण्डु–४ मा तेस्रो पटक निर्वाचन लड्दैछन् । थापा यसअघि पहिलोपटक २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए ।
त्यसपछि ०७० र ७४ मा काठमाण्डु –४ बाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा थापाले एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका थिए । २१ हजार ५५८ मत ल्याएर थापा विजयी हुँदा भट्टराईले १८ हजार १४० मत प्राप्त गरेका थिए ।
विद्यार्थी राजनीतिबाट आएका थापा र भट्टराई दुवै प्रखर वक्ता मानिन्छन् । योपटक पनि थापा र भट्टराईबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ । यस्तै उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार इन्जिनियर(अभियन्ता) आकर्षण पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा गगनका लागि यसपटकको प्रतिस्पर्धा सहज छैन । यो क्षेत्रमा कांग्रेसको भन्दा एमालेको मत बढी छ । काठमाण्डु–४ मा सत्ता गठबन्धनमा रहेका अन्य दलको न्यून मत छ ।
उक्त निर्वाचन क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गरेमा त्यसको फाइदा एमालेकै उम्मेदवारले उठाउने सम्भावना उत्तिकै छ ।
काठमाण्ड–४ मा काठमाण्डु महानगरपालिका १, ७, ८, ३० र बुढानीलकण्ठ नगरपालिका १,२,८,९,१०,११,१२ र १३ नम्बर वडा पर्छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा पहिलो शक्ति एमाले देखिएको छ ।
यद्यपि यहाँ स्वतन्त्र उम्मेदवारले ल्याउने मतले समेत नतिजालाई फरक पार्न सक्ने देखिन्छ । गणितीय हिसाबले गगनका लागि यसपटकको चुनाव सहज देखिँदैन ।
विश्वप्रकाश शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट चुनाव लड्ने प्रयासमा छन् । उनले यसअघि संसदीय चुनावमा दुई पटक ०७० र ०७४ सालमा पराजय भोगिसकेका छन् ।
उनले ०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राम कार्कीसँग पराजय भोगेका थिए ।
शर्माको निर्वाचन क्षेत्रमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका ९ र १० नम्बर वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा समेटिएको छ ।
स्थानीय निर्वाचनमा एमालेले ३१ हजार २३२ मत प्राप्त गर्दा कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ । कांग्रेस र एमालेले पाएको मतको अन्तर ७ हजार १७३ छ ।
तेस्रो शक्तिका रुपमा देखिएको राप्रपाले ५ हजार ९२२ मत प्राप्त गर्दा माओवादीले ३ हजार ९०५, नेकपा एसले १ हजार २५२ र लोसपाले १६२ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनका दलले २९ हजार २१६ मत पाएका छन्। जुन एमालेको सिंगल मत भन्दा २ हजार १६ कम हो ।
एमाले र राप्रपाबीच तालमेल हुँदा एमालेका पक्षमा ३७ हजार १५४ मत हुन्छ । जुन सत्ता गठबन्धन भन्दा ७ हजार ९३८ मत बढी हो । स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्ने हो भने शर्माका लागि यो पटक पनि संसद् भवन छिर्ने बाटो सहज देखिँदैन ।




प्रतिक्रिया