कैलाली-५ मा कांग्रेसबाट आरजु एकल उम्मेदवार, ०७४ मा जितेका नारदमुनीलाई यो पटक कति सहज ?

कैलाली-५ मा कांग्रेसबाट आरजु एकल उम्मेदवार, ०७४ मा जितेका नारदमुनीलाई यो पटक कति सहज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस कैलाली– ५ ‘क’ को प्रदेश समितिको बुधबार बसेको बैठकले प्रधानमन्त्री शेर बहादुर देउवा पत्नीसमेत रहेकी नेतृ आरजु राणाको नाम सिरफारिस गरेको हो । उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा कैलाली क्षेत्र– ५ बाट एकल उम्मेदवार हुन् ।

उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । अघिल्लोपटक चुनावी मैदानमा भिडेका दुई अनुहारहरू फेरि आमनेसामने हुने लगभग पक्का भएको छ ।

०७४ मा आरजुलाई पराजित गरेका नारदमुनि एमालेबाट पुनः उम्मेदवार हुने चर्चा चलेको छ, उनी तयारीमा समेत जुटेका छन् । राना एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज हुन् ।

रानाले उक्त क्षेत्रमा रानाथारुको बाहुल्यता रहेका कारण आफू नै बलियो उम्मेदवार भएको बताए । उनले निर्वाचनमा विजयी भएपछि आफूले थुप्रै कामहरु गरेको बताउँदै त्यसको मूल्यांकनका आधारमा जनताले आफूलाई नै पुनः विजयी गराउने दावी गरे ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको १९ वडामध्ये १२ वडा जितेको थियो । अघिल्लोपटक २ वटा वडामा सिमित एमालेले अहिले ६ वटा वडा जितेको छ ।

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ । तर, कांग्रेसले भने आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नहुने दाबी गरेको छ ।

गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली ५ मा कांग्रेसको मत २२ हजार ७७९ छ । एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ मतसहित तेस्रो स्थानमा छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले २ हजार ९, राप्रपाले १ हजार ७९७ र नागरिक उन्मुक्ति पार्टीले ६५९ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा)को १५० मत छ ।

प्रदेशसभाका लागि कोको भए सिफारिस ?

संघिय समानुपातिकका लागि पनि महिला तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् । बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ ।

जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् । यसै गरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।

जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुन मगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरिएको हो ।