देउवाकै गृहजिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, मित्रवत् प्रतिस्पर्धा हुने

देउवाकै गृहजिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, मित्रवत् प्रतिस्पर्धा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा गठबनधन नहुने भएको छ । शुक्रबार बसेको कांग्रेस डडेल्धुरा कार्य समितिको बैठकले केन्द्रिय सहमति विपरित गठबन्धन नगर्ने निर्णय गरेको हो ।

गठबन्धन गर्ने केन्द्रको निर्णयकाे स्वागत गर्दै सो निर्णय गरिएको सचिव हेमराज चटौतले बताए । ‘केन्द्रले गठबन्धन गर्न गरेको निर्णय स्वागत गर्दै हामीले जिल्लामा गठबन्धन नगर्ने भन्दै प्रदेश र केन्द्रलाई जानकारी गराउने निर्णय गरेका छौँ, यहाँ हामी एक्लै पनि जित्ने अवस्था छ ।’

सचिव चटौतले स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धाको लागि माथिल्लो समितिमा जानकारी गराइएको बताएका छन् । स्थानीय तहको निर्वाचनमा पनि डडेल्धुरामा गठबन्धन भएको थिएन । गठबन्धन नहुँदा समेत सात स्थानीय तहमध्ये कांग्रेस एक्लैले ५ स्थानीय तहमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जित हात पार्दा नेकपा एमालेले भने कुनैपनि स्थानीय तह जित्न सकेन ।

यो संगै गठबन्धनका अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी तथा जनता समाजवादी भने किनारा लागेका छन्। प्रधानमन्त्रीकै गृह जिल्लामा गठबन्धन नगर्ने भन्दै निणर्य भएसँगै सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटको निर्णय अझै पेचिलो बन्ने देखिएको छ ।

त्यहाँ नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि खगराज भट्ट आकांक्षी हुन्। उनी लगातार तीन पटकसम्म देउवासँग पराजित भइसकेका छन् । देउवासँगै पराजित भएका भट्ट यसपटक देउवालाई सहयोग गर्ने र प्रदेशमा निर्वाचन लडेर मुख्यमन्त्री बन्ने चर्चा पनि चलेको थियो ।

डडेल्धुराबाट कांग्रेसले प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेशसभा तर्फ क्षेत्र न. ख मा प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरा र क मा कांग्रेस डडेल्धुरा सभापति भीम बहादुर साउदको सर्वसम्मत नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ भने देउवापत्नी तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवालाई सिफारिस गरिएको छ ।