सिट बाँडफाटमा सकस : कार्यदलको बैठक बस्नुअघि प्रचण्ड र देउवाबीच भेटवार्ता

सिट बाँडफाटमा सकस : कार्यदलको बैठक बस्नुअघि प्रचण्ड र देउवाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच सिट बाँडफाँटलगायतका विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज अपराह्न ३ बजे बस्दैछ । बैठक बस्नुअघि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो दावीबाट पछि नहट्दा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । निर्वाचन घोषणा भएदेखि नै तालमेल गर्ने सहमति गरेर सिट बाँडफाटमा लागेको गठबन्धनले हालसम्म पनि भागबण्डा लगाउन सकेको छैन । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले सिट भागबण्डा टुंगो लगाउन सकस परेको हो ।

कांग्रेसका तीन शिर्ष नेता सिट बाँडफाटलाई लिएर तीनतिर देखिएका छन् । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवा थोरै सिट लिएर भएपनि गठबन्धन बचाउने पक्षमा देखिएका छन् भने महामन्त्री गगन थापा कांग्रेसले जित्ने ठाउँ अन्य दललाई छाड्न नमिल्ने पक्षमा छन् । उनले १०० सिट दावी गरेका छन् ।

यता कार्यदलका सदस्य रहेका कृष्ण सिटौलाले भने देउवा र गगनले भनेको भन्दा फरक प्रस्ताव पेश गरेका छन् । उनले गठबन्धन पनि नटुट्ने र कांग्रेसलाई पनि घाटा नहुने भन्दै ८० –९० को बिचमा आफुहरुले सिट पाउने दावी गरेका छन् ।

अन्य दलहरु भने सिट बाँडफाटमा कांग्रेस लचक नभए गठबन्धन नै तोड्ने पक्षमा पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त कांग्रेसले एकलौटी गरे गठबन्धन तोड्ने र कांग्रेसबाहेकको वाममोर्चा बनाएर जाने सार्वजनिक कार्यक्रममै बताइसकेका छन् ।