काठमाण्डु – नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जघन्य अपराधमा मुछिएका व्यक्तिहरुलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
पाँच दलीय सत्ता गठबन्धनसँग मिलेर नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न लागेको कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि घन्य अपराधमा मुछिएका नेता मोहम्मद अलताफ आलम र भ्रष्टाचारको आरोप लागेका विजय कुमार गच्छादारसम्मलाई एकल उम्मेदवार सिफारिस गरेको हो ।
अलताफ आलम
नेता मोहम्मद अफताब आलम हाल थुनामा छन् । तर, कांग्रेसको रौतहट क्षेत्र नम्बर २ कार्यसमितिले प्रतिनिधिसभा उम्मेदवारका लागि आलमको मात्रै एकल नाम सिफारिस गरेको छ ।
आलम यसअघि रौतहट क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा पक्राउ परेपछि उनको सांसद पद निलम्बनमा छ ।
२०६४ चैत २७ गते शेख इद्रिसको घरमा बम पडकएको थियो । उक्त घटनामा २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरले ज्यान गुमाएका थिए ।
उक्त घटना लुकाउन विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको आरोप आलमविरुद्ध लागेको छ । प्रहरीले आलमलाई २०७६ असोजमा पक्राउ गरेको थियो ।
विजयकुमार गच्छदार
गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उनको नाम क्षेत्रीय कमिटिले सर्वसम्मत रूपमा पार्टीको माथिल्लो निकायमा पठाएको हो । उनी भ्रष्टाचारमा मुछिएका नेता हुन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारलगायत व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कानुनअनुसार उक्त मुद्दाको छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवार हुन मिल्दैन । तरपनि, पार्टीको क्षेत्रीय समितिले उनलाई उम्मेदवार बनाउन लागेको हो।
मुद्दा दर्तापछि २०७६ माघमा उनी सांसद पदबाट निलम्बनमा परेका थिए । मुद्दा चलेपछि सम्पर्कविहीन भएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै दिन अदालतमा हाजिर भएका थिए । विशेषले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
गणेश लामा
गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभामा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस क्षेत्रीय कमिटिले लामालाई काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा २ का लागि उम्मेदवार सिफारिस गरेको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् ।
लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाण्डु सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।
मुद्दा खेपेर जेलमा रहेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउन कुनै पनि कानुनले दिँदैन । तर, कांग्रेसले भने तिनै पृष्ठभूमिका नेतालाई उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अदालतमा विचाराधीन रहेको मुद्दामा निष्कर्ष निकाल्न नहुने बताए ।
आलम, गच्छदारलगायत नेताको सन्दर्भ निकाल्दै नेता महतले भने, ‘आलमजीको मुद्दा अदालतमा छ । फैसला नहुन्जेल हामीले यसै हो भनेर उम्मेदवारी सिफारिस गर्नबाट रोक्न सक्दैनौं । विचाराधीन मुद्दामा अहिले नै निष्कर्ष निकालेर बोल्न मिल्दैन।’




प्रतिक्रिया