काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले डडेल्धुराले संघ र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । एमाले डडेल्धुराले प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ पठानसिंह बोहराको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् नेकपा एमालेले बोहराको नाम सिफारिस गरेसँगै उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भएको छ । उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा १ बाट चुनाव जितेका थिए ।
बोहरा त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा बोहरालाई चुनाव जित्न सहज छैन् । किनभने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले डडेल्धुराका सात वटा पालिका मध्ये एउटामा पनि जित निकाल्न सकेको छैन् ।
सात पालिका मध्ये कांग्रेसले पाँच वटामा जित निकाल्दै डडेल्धुरामा पहिलो दल बन्न सफल भएको छ । जसअनुसार अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काग्रेस विजयी भएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुन सफल भयो ।
त्यस्तै गन्यापधुरा गाउँपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै परशुराम नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भए भने उपप्रमुखमा माओवादी विजयी भएको छ ।
यता अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भयाे। त्यसैगरी आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।




प्रतिक्रिया