सिट बाँडफाटमा ‘प्रधानमन्त्री पद’ बाधक, प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

सिट बाँडफाटमा ‘प्रधानमन्त्री पद’ बाधक, प्रचण्डको प्रस्तावमा देउवा सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आसन्न निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाट गर्न नसकिरहेका बेला प्रचण्डले निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका हुन् । उनले सत्ता गठबन्धनको बैठकमा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको स्रोतले जानकारी दियो ।

निर्वाचन आयोगले चुनाव घोषणा गरेलगत्तै शीर्ष नेताहरु भागबण्डामा लागेका थिए । तर, हालसम्म टुंगो लगाउन सकेका छैनन् । शीर्ष नेताहरुले क्षेत्रअनुसार सिट बाँडफाँडमा सहमति जुटाएर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको थियो । उक्त कार्यदलले समेत सहमतिमा प्रतिवेदन दिन सकेको छैन् ।

यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव लगायत गठबन्धनका शीर्ष नेताहरु नै निरन्तर छलफलमा जुटेका छन् । तर, अझै सहमति हुन सकेकाे छैन । त्यसको एउटा कारण हो– प्रधानमन्त्री पद ।

निर्वाचनका लागि सिट बाँडफाट पेचिलो बन्दै गइरहेका बेला प्रचण्डले अहिले नै प्रधानमनत्री पदमा छिनोफानो गरेर जानुपर्ने र आफुलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेका छन् । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक रहेको स्रोत बताउँछ ।

चुनावपछिको प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेर जानुपर्ने दाहालको प्रस्तावबारे नेताहरुबीच छलफल चलिरहेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकमार्फत नै एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।

प्रचण्डले ओलीलाई टक्कर दिनसक्ने नेता आफू भएको भन्दै भावी प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कांग्रेस नेतृत्व प्रचण्डको प्रस्तावप्रति सकारात्मक रहेपनि कांग्रेस नेताहरु भने भावी प्रधानमन्त्रीको रुपमा सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने अडानमा छन् । कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सो बैठकमा सिट बाँडफाँडसँगै भावी प्रधानमन्त्रीको विषयमा पनि छलफल हुने स्रोतको दाबी छ ।