काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाट पेचिलो बन्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले आआफ्नो अडान नछोड्दा गठबन्धन फुट्न सक्ने संकेत देखिएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफुले दावी गरेका सिट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी नै दिइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवदी पार्टी आफ्नो अडानबाट पछि नहटेका बेला अध्यक्ष यादवले गठबन्धनसामु नयाँ अडान राखेका छन् ।
जसपा अध्यक्ष यादवले आफूहरु एक्लै उठे पनि मधेश प्रदेशसहितका स्थानबाट १०/१२ सिट त सजिलै जित्ने दावी गरिरहेका छन् । बिहीबार वीरगञ्ज पुगेर यादवले भने, ‘३२ सिट हामी लिन्छौँ। सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए सत्ता गठबन्धनको औचित्य छैन ।’
आफूहरूले प्रतिनिधिसभाका लागि मागेको ३२ सिटबारे दलका शीर्ष नेताबीच छलफल चलिरहेको पनि उनले बताए । यादवले यसो भनिरहँदा बिहीबार काठमाण्डुमा भएको गठबन्धन बैठकमा जसपाले मधेश प्रदेशसँगै प्रदेश १ का २ जिल्ला पनि मागेको छ ।
जसपाले मधेस प्रदेशसँगै प्रदेश १ का दुई क्षेत्र मोरङ ५ र धनकुटा मागेको हो । तर काङ्ग्रेसले यी दुईवटा दिन नसक्ने बताएको छ । धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा आएका सुनिलबहादुर थापा उठ्न तयार छन्। उनी कांग्रेस सभापति देउवानिकट हुन् ।
त्यहाँ माओवादी केन्द्रका हेमराज भण्डारीको पनि बलियो दाबी छ । उनी यदि टिकट नमिले अन्य विकल्प खोजेर पनि चुनावी मैदानमा होमिने योजनामा छन् । जसपाले यहाँ नेता रकम चेम्जोङलाई उठाउने योजना बनाएको छ । बाबुराम भट्टराईसँग छुटे पनि जसपा अध्यक्ष यादवले पहाडमासमेत आफ्नो उपस्थिति देखाउन चाहेका छन् । त्यही रणनीतिअनुसार उनी धनकुटामा रकमलाई टिकट दिलाउन चाहन्छन्।
धनकुटामा २०७४ को आमनिर्वाचन एमालेका राजेन्द्रकुमार राईले जितेका थिए । त्यसबेला पराजित सुनिलबहादुर यो पटक गठबन्धनको बलमा संसदमा आउने रणनीतिसहित अभियानमा छन्। सप्तरी २ मा जनमत पार्टीका सिके राउत पनि उठ्ने भएपछि जसपा अध्यक्ष यादवले असुरक्षा महसुस गरेका छन्।
त्यसको विकल्पका रुपमा जसपाले अध्यक्ष यादवका लागि मोरङ ५ पनि हेरेको छ । विराटनगरबाट राजनीति थालेका उनी सप्तरीमा असुरक्षित लागेपछि मोरङ ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । त्यसकै लागि उनको नाम जसपाले मोरङ ५ बाट सिफारिस गरिसकेको छ ।
मधेश आन्दोलनबाट आएका यादव २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए ।तर उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता अमृत अर्यालसँग पराजित भएका थिए । यादवले २०७४ सालमा सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट जितेका थिए ।




प्रतिक्रिया