काठमाण्डु – नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेलको प्रयास भएका छन् ।
पाँच दलीय गठबन्धनमा समाहित हुन कोसिस गरे पनि सफल नभएपछि महन्थ ठाकुर नेतृत्वको लोसपाले एमालेसँग सहकार्यको पाइला अघि सारेकाे हो ।
आगामी ४ मंसिरको चुनावी तालमेलका लागि एमाले अध्यक्ष केपी ओलीले लोसपा अध्यक्ष ठाकुरसँग छलफल थालेका छन् । दुई नेताबीच भएको कुराकानी बाहिर सार्वजनिक भइनसके पनि आउँदो चुनावमा एमाले र लोसपा तालमेल गरेर अगाडि बढ्ने विषयले प्राथमिकता पाएको बताइन्छ ।
एमालेका एक नेताका अनुसार अध्यक्ष ओलीले तीन दिनदेखि महन्थसँग चुनावी तालमेलबारे छलफल गरिरहेका छन् । आउँदो चुनावमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुवै नेता सहमति नजिक पुगेकाछन् ।
एमालेले लोसपालाई केही समय अघि नै आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्न प्रस्ताव पठाएको थियो । दुई नेताबीचको छलफलमा महन्थले पार्टीमा थप छलफल गरेर आउने वचन अध्यक्ष ओलीलाई दिइसकेका छन्।
‘आसन्न निर्वाचनमा एमालेसँग सहकार्य गर्नुको विकल्प छैन । त्यसो नभए हामी संघ र प्रदेश दुवैमा पराजित हुन्छौं,’ लोसपाका एक नेताले भने ।
मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिने गरी एमालेसँग सहमति बन्न सक्ने उनको अनुमान छ । एमालेसँगको अनौपचारिक छलफल सकारात्मक हुँदै गएको दुवै दलका नेताहरुले दाबी गरेका छन्।




प्रतिक्रिया