भागबण्डा मिलाउन बिहानदेखि गठबन्धनका शीर्षनेता छलफलमा

भागबण्डा मिलाउन बिहानदेखि गठबन्धनका शीर्षनेता छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

कार्यदलका एक सदस्यले आजै सिट बाँडफाँडको टुंगो लगाउने बताए । ‘सम्भवतः आजको बैठक सिट बाँडफाँडबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सिट बाँडफाँड गर्नुपर्ने भएकाले प्याकेजमै टुंगो लगाउने कि भन्ने मत केही नेतामा देखियो,’ उनले भने ।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।