काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले टिकट व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्।
उठेर दुई कदम पनि हिँड्न नसक्ने बुढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको गुनासो गरे। ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने होकि भन्ने आफूलाई लागेको बताए।
‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएकोछ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने होभने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन। को काबिल, को काबिल छैन? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं’ उनले भने, ‘नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्। उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटि त पाउँ, अरू केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाऊँ। के होला, कस्तो गाह्रो?’
उनले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए।




प्रतिक्रिया