एक महिनापछि खुले केरुङ र तातोपानी नाका

एक महिनापछि खुले केरुङ र तातोपानी नाका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कोभिड-१९ का कारण बन्द भएका नेपालतर्फका केरुङ र तातोपानी नाकाहरू सञ्चालनमा आएका छन् ।

चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्न लागेको हो ।

नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरू गरेको हो ।

यसैगरी अध्यक्ष लीले कोभिड–१९ का कारण बन्द भएको नेपालतर्फका केरुङ र तातोपानी नाकाहरू तत्काल सञ्चालन हुने राष्ट्रपति भण्डारीलाई जानकारी दिएका थिए। अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरू अन्य कुनै कारण नभई कोभिड महामारीका कारण बन्द रहेको बताए। उनले भने, ‘महामारीका कारण नेपाली व्यापार नाका बन्द थिए। म यहाँ आउनुभन्दा अगाडि सञ्चालनका लागि त्यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारीसँग कुराकानी गरिसकेकाले चाँडै नाका खुल्नेछन्।’

सोमबार नेपाल आएका लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए। सभामुख सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उनी बिहीबार स्वदेश फर्किसकेका छन्।