काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान मास्ने प्रपञ्च भइरहेको बताएका छन्।आठौँ संविधान दिवसका अवसरमा शुभकामना दिँदै नेता नेपालले संविधान रक्षाका लागि जनताको सुझबुझपूर्ण साथको आवश्यकता भएको बताएका हुन्।
नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र त्यसका लागि भएका विभिन्न आन्दोलनमा जीवन बलिदान गर्ने शहीदप्रति विज्ञप्तिमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि हो । संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ ।”
विज्ञप्तिमा असंवैधानिक रूपमा दुई पटक गरिएको संसद् विघटन, स्वेच्छाचारिता, अहङ्कार, दम्भ एवं अनेक खाले विकृतिका विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नुपर्नेे उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ,“ अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेकाले सर्तक हुन आवश्यक छ ।”
विज्ञप्तिमा आसन्न प्रादेशिक र सङ्घीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको अहिलेको अवस्थामा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्ति नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेकाले जनताको सहयोग, सद्भाव र सुझबुझपूर्ण साथकाे आवश्यकता रहेकाे छ ।




प्रतिक्रिया