नागरिकता विधेयक संविधानसम्मत छैन, संविधानको मर्मविपरितको कार्यमा साथ रहन्न :राष्ट्रपतिका सल्लाहकार

नागरिकता विधेयक संविधानसम्मत छैन, संविधानको मर्मविपरितको कार्यमा साथ रहन्न :राष्ट्रपतिका सल्लाहकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबावु यादवले नागरिकता विद्येयक संविधानसम्मत नभएको बताएका छन् । संसदको दुवै सदनको बहुमतले पारित गरेको नागरिकता विद्येयक प्रमाणिकरण गर्ने समय आज राति १२ बजे सकिनै लाग्दा उनका सल्लाहकार यादवको यस्तो भनाई आएको हो ।

राष्ट्रपति भण्डारीले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाए पनि गठबन्धन सरकारले बेवास्ता गर्दै जस्ताको तस्तै उक्त विधेयक आफूसमक्ष पठाएकाले प्रमाणीकरण नगर्ने निष्कर्षमा उनि पुगेको स्रोतको दावी छ ।

राष्ट्रपतिका सल्लाहकार यादवले भने ‘राष्ट्रपति नागरिकताको विरोधी हुनुहुन्न,प्रत्येक व्यक्तिको नेपाली नागरिकता पाउने अधिकार छ भन्ने उहांको धारणा हो । तर, यो विद्येयक संविधानअनुसार छ कि छैन भन्ने कुरा उहांले हेर्नुहुन्छ ।’

यादवले राष्ट्रपति संविधानको धारा १ देखि ३ सय ८ सबै धाराको संरक्षक भएको भन्दै राष्ट्रपति त्यसैअनुसार चल्ने दावी गरे । उनले राष्ट्रपति व्यक्ती मात्र नभएको भन्दै हेड अफ द स्टेट र राज्यको प्रमुख नागरिक भएकाले सबै काम संविधान बमोजिम हुने बताए ।

‘संविधानबमोजिमको नागरिकता विधेयक ल्याउन केही समय लाग्दैन, अध्यादेशबाट ल्याए पनि हुन्छ । उहांहरुले अध्यादेश ल्याइ पनि रहनुभएको छ । तर अहिलेको विधेयक संविधानसम्मत छैन । राष्ट्रपतिको संविधानको धारा ६१ को ४ अनुसार संविधानको संरक्षण र पालना गर्ने कर्तव्य पनि उहांको हो । त्यसैले संविधानको मर्मविपरितको कार्यमा उहाँको साथ रहन्न । ’ यादवले भने ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएकाले उक्त विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति भण्डारीको योजना रहेको स्रोतको दावी छ । स्रोतका अनुसार उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएकी छिन् ।

यसैबीच आज बसेको सत्ता गठबन्धनको बैठकले पनि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नसक्ने ठहर गरेको छ । यदि आज राति १२ बजेसम्म उक्त विधेयक प्रमाणीकरण नभए के गर्नेबारे पनि छलफल भएको गठबन्धनका नेताहरुको दावी छ ।

राष्ट्रपतिका सल्लाहकार यादवले भने गठबन्धनका शीर्ष नेताहरुले के निर्णय गरे भन्ने कुराले खासै अर्थ नराख्ने समेत बताएका छन् । उनले गठबन्धन संविधानमाथि हुन नसक्ने भन्दै असन्तुष्टि पोखे ।

राष्ट्रपति भण्डारीले यसअघि नागरिकताको विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेकी थिइन ।