काठमाण्डु – नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै धनकुटाका माओवादी नेता तथा पोलिटब्यूरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएकाे घोषणा गरेका हुन् ।
माओवादीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भण्डारीलाई उम्मेदवार सिफारिस गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउने क्रममा धनकुटा माओवादीको भागमा पर्ने सम्भावना न्यून छ ।
केही दिनअघि काठमाण्डु आएर भण्डारीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । तर प्रचण्डबाट पनि सकारात्मक प्रतिक्रिया नआएपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
भण्डारीले भने, ‘आफूलाई पार्टीको हँसिया–हथौडा चिह्नमा उम्मेदवार बन्न दिन अध्यक्षसँग आग्रह गरेँ । तर, उहाँबाट सकारात्मक प्रतिक्रिया नआएपछि मैले १५ दिनअगाडि नै अध्यक्षलाई राजीनामा बुझाएको थिएँ ।’
प्रदेश कमिटी सदस्य तिलकप्रसाद राईले पनि पार्टीको निर्णयअनुसार नै सामूहिक राजीनामा गरिएको बताए । ‘पार्टीले जहिले पनि हँसिया–हथौडालाई उपेक्षा गर्यो । त्यसैले गठबन्धन गरेर कांग्रेसलाई सहयोग गर्न नसकिने निष्कर्षसहित हामीले सामूहिक राजीनामा दिएका हौँ,’ उनले भने ।
यता प्रदेश सचिव गणेश उप्रेतीले उनीहरुले सामूहिक राजीनामा नदिएको बताए । उनले भने, ‘सामूहिक राजीनामाको सार्वजनिक घोषणा गरे पनि उहाँहरुले आधिकारिक रुपमा प्रदेशमा राजीनामा दिनुभएको छैन । यसलाई राजीनामा दिएको भनेर प्रदेश समितिले बुझ्न मिल्दैन ।’
नेता भण्डारीले प्रतिनिधिसभानमा टिकट नपाएको खण्डमा प्रदेशमा पनि नलिने भनेर आफू केन्द्रित राजनीति गर्न खोजेको नेताहरुको आरोप छ । माओवादी धनकुटाका एक नेताले भने, ‘उहाँले संघमा टिकट पाउनु भएन भन्दैमा पार्टीलाई रित्तै बनाउने कदम आत्मघाती हो । उहाँसँग सति जान सकिँदैन ।’
प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएपछि माओवादीमा तरंग पैदा भएको छ ।




प्रतिक्रिया