काठमाण्डु – एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा पुष्पा भुसाल र नेता टोपबहादुर रायमाझी आमने सामने हुने छन्।
नेपाली कांग्रेसले भुसालसहित लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल मुस्कान्, पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, रामबहादुर बीसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको छ । तर, कांग्रेसले आगामी मंसिर ४ मा हुने चुनावमा यसअघिका कुनै पनि समानुपातिक उम्मेद्वारलाई दोहोर्याउन चाहादैन ।
त्यसकारण पनि प्रतिनिधिसभाकी उपसभामुख समेत रहेकी नेतृ भुसाल नै उम्मेदवार बन्ने सम्भावना बलियो छ । यस्तो भएमा कांग्रेसकी भुसाल र एमालेका रायमाझीबीच कडा टक्कर हुने देखिन्छ । भुसाल अघिल्लो निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । त्यसअघि २०६४ मा पनि उनी विजयी भएकी थिइन् भने ०७४ मा एमालेका दुमन थापासँग पराजित भएकी थिइन् ।
यता रायमाझीले २०६४ सालबाट लगातार चुनाव जित्दै आएका छन्। २०६४ र ०७४ मा माओवादी केन्द्रबाट मात्रै जितेका उनलाई २०७४ सालमा भने एमालेको पनि साथ थियो । हाल उनी माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा छन् । उनी अर्घाखाँचीमा एमालेबाटै एकल उम्मेद्वार सिफारिस भएका छन् ।
२०७४ सालमा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार भएका रायमाझीले ५० हजार ८३७ मत ल्याएका थिए । कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत पाएका थिए । यसपटक पार्टी परिवर्तन गरेका रायमाझिको हकमा अघिल्लो चुनावमा पाएको माओवादीको सबै मत भने आउने छैन । तर स्थानीय तहको चुनावको नतिजा हेर्दा भने अर्घाखाँचीमा एमाले नै बलियो देखिन्छ ।
गत वैशाखमा भएको स्थानिय तहको चुनावमा जिल्लाका ६ पालिकामध्ये ३ को प्रमुख एमालेले जितेको थियो । २ वटामा कांग्रेस र एउटामा राष्ट्रिय जनमोर्चा विजयी भएको थियो । वडाअध्यक्षहरूको मतलाई आधार मान्दा गत स्थानिय चुनावमा एमालेका उम्मेद्वारले ४८ हजार २६० मत पाएका छन्।
कांग्रेसका वडाध्यक्षहरूले ३७ हजार ०२५ मत ल्याएका छन्। माओवादी केन्द्रको ७ हजार ७९०, राष्ट्रिय जनमोर्चाको ४ हजार २०४ र एकिकृत समाजवादीको ३ हजार ७३६ मत आएको छ ।
अर्घाखाँचीमा एमालेका वडाध्यक्षहरूले पाएको मत कांग्रेस र माओवादी केन्द्र दुबैको भन्दा पनि बढि छ । तर राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मत समेटिँदा एमालेभन्दा गठबन्धन बलियो देखिन्छ ।




प्रतिक्रिया