काठमाण्डु – नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले पार्टीबाट राजीनामा दिएपछि नेकपा एमाले उत्साहित भएको छ ।
नेता भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समिति धनकुटाका पदाधिकारी र सदस्यहरूले राजीनामा दिएका थिए । भण्डारीले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा माओवादीमा भएको सामूहिक विद्रोहले धनकुटाको राजनीतिले कोल्टे फेरेको छ। यसले एमालेलाई भने केहि सहज हुने देखिन्छ ।
एमालेका एक जिल्ला नेता एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने दावी गर्छन् । ती नेता भन्छन्, ‘गठबन्धन दलभित्र जात्रैजात्राको स्थिति छ । यस पटक जनताको अभिमत गठबन्धनको पक्षमा होइन, एमालेतिर देखिएको छ । त्यसैले योपटक एमालेको विजययात्रालाई कसैले रोक्न सक्दैन ।’
एमालेकाे गढ मानिने धनकुटाबाट एमालेका केन्द्रिय सदस्य राजेन्द्रकुमार राई एकल सिफारिस भएका छन् । नेता राई अघिल्लो निर्वाचन २०७४ मा समेत धनकुटाबाट बिजयी भएका थिए ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको नतिजालाई हेर्ने हो भने धनकुटामा एमाले नै बलियो देखिन्छ । एमालेले ६० वटा वडामध्ये धनकुटाका ३१ वडामा जित निकालेको थियाे । काँग्रेसले २६, माओवादीले २ र जसपाले १ वडामा जित निकालेको छ । यस्तै ७ वटा पालिकामध्ये ३ पालिकामा एमाले र ४ पालिकामा नेपाली काँग्रेसले जितेका छन् ।
एमालेले त्यहाँ ३६ हजार ३३६ हजार मत पाएको थियो भने कांग्रेसले २८ हजार १८२ मत पाएको छ । माओवादीले ५ हजार ४५८, जसपाले २ हजार २९३, नेकपा एसले १ हजार ७२८ र राप्रपाले ३०४ मत पाएको देखिन्छ ।धनकुटामा सत्ता गठबन्धनको कुल मत ३७ हजार ६६१ थियो भने एमालेको एकल मत ३६ हजजार ३३६ हो ।
माओवादीका भण्डारी समूहले विद्रोह गरेर हिडेपछि गठबन्धनकाे मत आधा घट्ने देखिन्छ । सोही कारण धनकुटामा एमाले उत्साही बनेको छ ।




प्रतिक्रिया