यी क्षेत्रबाट चुनाव लड्दैछन् मधेश केन्द्रित दलका शीर्ष नेता

यी क्षेत्रबाट चुनाव लड्दैछन् मधेश केन्द्रित दलका शीर्ष नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आफू कुन क्षेत्रबाट उठ्नेबारे टुंगो लगाएका छन् । यसैबीच मधेश केन्द्रित दलका प्रमुख नेताहरुले पनि मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि आफूले उठ्ने क्षेत्रको टुंगो लगाएका हुन् ।

जसअनुसार आ-आफ्नो क्षेत्र टुंगो लगाउनेमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका शीर्ष नेताहरु रहेका छन् । सत्ता गठबन्धनमा आवद्ध रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव बारा २ , सिराहा १-२ र सप्तरी २ बाट सिफारिस भएका छन् ।

यी क्षेत्र मध्ये अध्यक्ष यादवले सप्तरीको क्षेत्र न. २ बाट चुनाव लड्ने तयारी गरेका छन् । २०७४ मा पनि यादव यही क्षेत्रबाट विजयी भएका थिए ।  अध्यक्ष यादवको निर्देशनअनुसार सो क्षेत्रको टोल टोलमा गोष्ठी र चुनावी कार्यक्रमहरू गरिन थालेका छन् । २०७४ को चुनावमा यादव २१ हजार ६२० मत ल्याएर निर्वाचित हुन सफल भए ।

उनीसँग चुनावी मैदानमा उत्रिएका नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत प्राप्त गरेका थिए ।  यता लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि तिन जिल्लाबाट संघ  र प्रदेशसभाको निर्वाचनका लागि सिफारिस भएका छन् । तर, अध्यक्ष ठाकुर महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन् ।

२०७४ सालको निर्वाचनमा महोत्तरी-३ बाट संघीय समाजवादीसँगको गठबन्धनमा तत्कालीन राजपा नेपालबाट चुनाव लडेका उनी भारी मतले विजयी भएका थिए । उनले २७ हजार पाँच मत ल्याए भने उनका  प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता विजय चौधरीले ८ हजार ९७७ मत ल्याएका  थिए ।

त्यसबेला एमालेका नेता चौधरी भन्दा ठाकुरले तेब्बर भन्दा बढी मत ल्याएका हुन् ।  अध्यक्ष ठाकुरले फेरी पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । त्यसैगरी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट  चुनाव लड्ने भएका छन् । २०७४ मा पनि नेता महतो यही क्षेत्रबाट विजयी भएका थिए ।

तत्कालीन राजपाबाट उठेका महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतले पराजित गर्दै विजयी भएका थिए । त्यस बेला उनले ३० हजार ७ सय ४२ मत प्राप्त गरे । निधिले २७ हजार ८ सय २८ मत ल्याएका थिए ।  फेरि पनि महतो धनुषा ३ बाट चुनाव लड्ने भएका हुन् ।

सर्लाहीमा निरन्तर चुनाव हार्न थालेपछि महतो धनुषा-३ बाट चुनाव लड्न थालेका छन् । नेता महतोले सो क्षेत्र नछाड्ने भएपछि कांग्रेस नेता निधीले अन्य क्षेत्रबाट उठ्ने तयारी गरिरहेका छन् । अगामि मंसिर ४ गते हुने संघीय निर्वाचन अन्तर्गत लोसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।

एमालेसँग चुनावी तालमेलका लागि लोसपाले निरन्तर छलफल गरि रहेको छ ।  त्यसैगरी जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । २०७४ सालको निर्वाचन बहिष्कार गरेका राउतले उपेन्द्र यादवसँग चुनावी मैदानमा भिड्ने तयारी गरेका हुन् ।

यसभन्दा अघि रावतले काठमाण्डु आएर यादव र ठाकुरसँग चुनावी गठबन्धनबारे छलफल गरेका थिए । तर, यादव र ठाकुर सकरात्मक नदेखिए पछि उनी सप्तरी २ नै चुनाव लड्ने भएका हुन् । उक्त  क्षेत्रमा रावतले चुनावी अभियान तिव्र गरिरहेका छन् । रावत गत महिना देखि नै चुनावी मैदानमा होमिएका छन् ।