काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्ने बताएका छन् ।
काठमाण्डु वडा नम्बर ३ स्थित रानीदेवी समूहले बुधवार लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताएका हुन् ।
‘राम्रा काम जसले गरेपनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन्, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ उनले भने, ‘अहिले विभिन्न साथीहरू विभिन्न रूपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरि अर्को दल आउँछ ।’
एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ पोखरेलले भने, ‘हामीसँग दुई वटा ठुला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामथ्र्य हाम्रो हुनुपर्छ ।’




प्रतिक्रिया