काठमाण्डु – विभिन्न राजनीतिक दलका अधिकांश प्रभावशाली नेताहरुले यस पटक सांसद बन्न सहज बाटो रोजेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विपक्षी दलसँग हार्ने सम्भावना देखिएपछि पटक पटक प्रत्यक्ष निर्वाचन जितेका र पार्टीभित्र प्रभावशाली मानिने अधिकांश हेभिवेट नेताले सांसद बन्ने सहज बाटो रोजेका हुन् ।
दलहरुले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेशसभाका लागि दुई सय २० सहित तीन सय ३० जना उम्मेदवारको समानुपातिक बन्दसूची असोज ३ गते नै निर्वाचन आयोगमा बुझाएका छन्।
औपचारिक रूपमा सार्वजनिक हुन बाँकी उक्त सूचीमा नेकपा एमालेका प्रभावशाली नेताहरु भने कमै मात्र समानुपातिक तर्फ उमेदवार बनेका छन् । तर, एमालेको तुलनामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राप्रपाका धेरै प्रभावशाली नेताहरुले समानुपातिक राजेका छन् ।
नेपाली कांग्रेसबाट सबैभन्दा धेरै प्रभावशाली नेताहरु समानुपातिकतर्फ उमेदवार बनेका छन् । जसमा प्रधानमन्त्री पत्नी आरजु राणादेखि विमलेन्द्र निधिसम्म रहेका छन् । त्यस्तै सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, गोपालमान श्रेष्ठ, प्रकाशरण महतले समानुपातिक रोजेका छन् ।
यता माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र त्रिलोचन भट्ट छन् । नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र डा गंगालाल तुलाधर समानुपातिकको सूचीमा बसेका छन्। एमालेका स्थायी समिति सदस्य रघुजी पन्त तथा राप्रपाका प्रभावशाली नेता पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी समानुपातिक सूचीमा परेका छन्।
यसरी समानुपातिक सूचीमा परेका नेतामध्ये केहीको निर्वाचन क्षेत्र नै सुरक्षित छैन भने केही निर्वाचन क्षेत्र सुरक्षित भए पनि संसद्मा प्रवेश पाउनका लागि सहज बाटो खोजेका हुन्।




प्रतिक्रिया