काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमाले र जसपाबीचको छलफल सकरात्मक ढंगले अघि बढिरहेको बताएका छन् । एमाले नेता रघुवीर महासेठको निवासमा हिजो भएकोे दुई पार्टीबीचको चुनावी तालमेलको विषय सहमति नजिक पुगेको ज्ञवालीको भनाई छ ।
एमाले र जसपाबीच २२ देखि २५ सिट जसपालाई दिने गरी छलफल अघि बढिरहेको छ । बिहिवार राति दुवै दलबीच हस्ताक्षर हुने भनिएपनि केही क्षेत्रमा दोहोरो दाबीका कारण आज फेरी शिर्ष नेताहरु बसेर टुंगो लगाउने नेता ज्ञवालीले बताए ।
‘हाम्रो बीचमा छलफल निकै सकरात्मक भएको छ । केही क्षेत्रमा टुंगो लागेको छैन । त्यसबारेमा आज शिर्ष नेताहरु बसेर फाइनल गर्नुहुन्छ । ’ नेता ज्ञवालीले काठमाण्डुपाटीसंग भने ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले एमाले नेताहरुसंगको छलफलमा दुई नम्बर प्रदेशको प्रदेश सरकार बन्ने गरी प्रदेश सिट बांडफांड हुनुपर्ने अडान राखेका छन् । त्यसमा एमालेले उनको प्रस्तावलाई स्वीकार गरेको स्रोतले बतायो ।
जसपाले एमालेसंगको छलफलमा केन्द्रमा २५ सिट मागेको थियो । मधेशमा १६ सिट र अन्य प्रदेशमा ८ सिटमा लभग सहमति भएको छ । सत्ता गठबन्धनमा जसपालाई १६ सिट दिने प्रस्ताव थियो । जसपाले एमालेसंग मोरङ,सुनसरी,धनकुटा,काठमाण्डौं ७, नवलपरासी, बांके र कपिलवस्तुमा एक एक सिट दिन आग्रह गरेको छ ।
धनकुटाको हकमा सहमति नभएपनि अन्य जिल्लामा भने जसपालाई सिट दिन एमाले सहमत भइसकेको स्रोत बताउंछ ।
त्यसैगरी मधेस प्रदेशमा जसपाले सप्तरीमा २,सिरहामा २, धनुषामा १, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २,बारामा २ र पर्सामा २ सीट पाउने सम्भावना छ । शिर्ष नेताहरुबीचको छलफल आजै भएर सांझसम्म हस्ताक्षर हुने सम्भावना रहेको दुवै दलका नेताहरुले बताएका छन् ।




प्रतिक्रिया