अछाम — नेकपा एमालेका नेता डा.भीम रावलले टिकट नपाएपछि उनको गृहजिल्ला अछाममा असन्तुष्टि तीव्र भएको छ । रावलको नाम अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको थियो । तर, केन्द्रले उनको सट्टा अछाम जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिएपछि अछाम एमालेमा असन्तुष्टि भएको हो ।
रावलको टिकट खोसेर दिइएका बोहरा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत हुन् । उनि माओवादीबाट एमालेमा समाहित भएका नेता र व्यवसायी हुन् ।

रावलले टिकट नपाएपछि उनि निकट नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्। त्यसका लागि दिउंसो १२ बजे भेला समेत बोलाइएको छ । रावलको एकल नाम सिफारिस भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सुदुरपश्चिमका नेताहरुलाई बालकोट बोलाएर असन्तुष्टि जनाएका थिए ।
रावल २०४८ सालदेखि नै चुनाव लड्दै आएका नेता हुन् । त्योमध्ये उनि ०५१, ०७० र ७४ मा निर्वाचित भएका थिए । ०६४ मा भने रावल समानुपातिक बसेका थिए । एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओली सर्वसम्मत हुनेमा थिए । तर, रावलले अध्यक्षमा उम्मेदवारी दिएयता दुवै नेताको सम्बन्ध बिग्रेको छ ।
ओली नेतृत्वको सरकार ढाल्न रावलले सबैभन्दा महत्वपूर्ण भुमिका खेलेका थिए । तत्कालिन एमाले नेता माधव कुमार नेपालको निकट रहेका उनि एमाले विभाजन हुंदा भने उनले नेपालको साथ छोडेका थिए । रावलले आफ्नै पार्टीको सरकार ढाल्न भुमिका खेलेको भन्दै उनलाई टिकट नदिइएको एमाले स्रोत बताउंछ ।
नेता रावलको अछाम जिल्ला कमिटिमा बलियो प्रभाव छ । उनलाई टिकट नदिएपछि सुदुरपश्चिमका अरु जिल्लामा समेत प्रभाव पर्ने एमाले नेताहरु बताउंछन् ।




प्रतिक्रिया