काठमाण्डु –मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले आइतबार मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ सिटमा देशभरबाट दुई हजार ४ सय ५२ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसमध्ये महिला उम्मेदवारको संख्या २ सय २९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटमा तीन हजार ३ सय २६ जनाको उम्मेदवारी परेकामा महिला २ सय ८६ जना मात्रै छन् ।
कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव लड्ने मौका पाएका छन् ।
एमालेले ११, माओवादी केन्द्रले ७, कांग्रेसले ५, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक जना महिलालाई उम्मेदवार बनाएका छन् । दलहरूले एउटै निर्वाचन क्षेत्रमा महिला–महिलाबीच प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दिएका छैनन् ।
प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवाज उठ्दै आएपनि राजनीतिकल दलहरुले भने महिलालाई टिकट दिन कन्जुस्याई गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचन २०७४ मा ५ जना मात्रै महिलालाई टिकट दिएको एमालेले यस पटक ११ जनालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । एमालेले कमलरीदेखि संसद्सम्मको संघर्ष गरेकी शान्ता चौधरीलाई दाङ–१ मा प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।
त्यस्तै ०७४ मा झिनो मतान्तरले पराजित भएकी भगवती चौधरीले यस पटक पनि सुनसरी–३ मै उम्मेदवारी दिएकी छन् । यस क्षेत्रमा उनले कांग्रेसका विजयकुमार गच्छदारसँग् प्रतिस्पर्धा गर्नेछिन् ।
यता पद्माकुमारी अर्यालले स्याङ्जा–२ र विद्या भट्टराईले कास्की–२ मै उम्मेदवारी दिएका छन् । अर्यालसँग कांग्रेस उपसभापति धनराज गुरुङ चुनाव लड्दै छन् भने कास्की–२ मा एकीकृत समाजवादीका श्रीनाथ बरालले प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै एमालेबाट कोमल वलीले दाङ–३, नीरुदेवी पालले कञ्चनपुर–३, मञ्जु शर्मा चालिसेले बागलुङ–२, जुलीकुमारी महतोले धनुषा–३, ज्वालाकुमारी साहले बारा–३ र गौरी वलीले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ती सबै क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट मुख्य प्रतिस्पर्धी पुरुष नै छन् ।
०७४ मा कांग्रेस नेता एवम् परराष्ट्रमन्त्री नारायण खड्कासँग पराजित भएकी मञ्जुकुमारी चौधरीले एमालेबाट उदयपुर–१ मै उम्मेदवारी दिएकी छन् । यहाँ कांग्रेसबाट परराष्ट्रमन्त्री खड्का नै पुनः उम्मेदवार छन् ।




प्रतिक्रिया