काठमाण्डु – पाँच दलीय सतता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रले प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा २६ जनालाई चुनावी मैदानमा उतारेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ र प्रदेशसभाका लागि १९ जनासहित २६ जनाले आइतबार मनोनयन दर्ता गराएका हुन् । १४ जिल्ला रहेको प्रदेशमा २८ प्रतिनिधि र ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।
प्रतिनिधिसभातर्फ माओवादीका उम्मेदवारले ताप्लेजुङ, भोजपुर र खोटाङ तथा झापा क्षेत्र नम्बर २, मोरङ ४ र ५ एवं सुनसरी १ मा मनोनयन दर्ता गराएका छन् । ताप्लेजुङमा पार्टीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनले नेकपा एमालेका सचिव एवम् प्रभभावशाली नेता योगेश भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् ।
भोजपुरमा निवर्तमान संघीय सांसद सुदन किराती उम्मेदवार बनेका छन् । उनले एमालेको तर्फबाट शेरधन राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछन् । ननीहरु पुराना प्रतिस्धी हुन् । नेता रामकुमार राईले खोटाङबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धा स्थानीयस्तरमा चर्चित र लोकप्रिय एमालेका नेता विशाल भट्टराईसँग हुने छ ।
माओवादीले झापा क्षेत्र नम्बर २ मा हरिकुमार रानालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । एमाले छाडेर माओवादीमा प्रवेश गरेकै कारण उनले टिकट पाएका हुन्। एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरेसँग रानाको प्रतिस्पर्धा हुने छ ।
मोरङको क्षेत्र नम्बर ४ र ५ मा माओवादीबाट क्रमस अमनलाल मोदी र शिवकुमार मण्डलको उम्मेदवारी परेको छ । मोदीको प्रतिस्पर्धा क्षेत्र नम्बर ४ मा एमाले–जसपा गठबन्धनका उम्मेदवार विनोद ढकालसँग हुने छ भने क्षेत्र नम्बर ५ मा मण्डलसँग जसपा नेता राजकुमार यादवले प्रतिस्पर्धा गर्नेछन् ।
सुनसरीको क्षेत्र नम्बर १ मा मुक्साहाङ मेन्याङ्बो उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राईको उम्मेदवारी परेको छ । प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । सोलुखुम्बुमा माओवादीले प्रदेशका दुवै क्षेत्र पाएको छ ।
गठबन्धनको सहमति अनुसार प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार उठाउने तयारी गरेको थियो। तर प्रदेशका दुवै क्षेत्र आफूले लिएर माओवादीले प्रतिनिधिसभा कांग्रेसलाई दिएको छ ।
कांग्रेस नेता बलबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। माओवादीबाट सोलुखुम्बुको ‘क’मा कज्र्याङ शेर्पा, सोलुखुम्बुको ‘ख’ मा ठमनाथ पराजुली (ध्रुव)ले उम्मेदवारी दिएका छन् । पाँचथरको ‘ख’ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उम्मेदवारी दिएका छन्। इलाम क्षेत्र नम्बर २ को ‘ख’बाट हर्क लावती उम्मेदवार बनेका छन्।
झापा ३ ‘क’ बाट श्यामबीर लिम्बू, ३ ‘ख’बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४ ‘क’बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ ‘ख’बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन्। मोरङको १ ‘क’बाट निवर्तमान प्रदेश सांसद कूलप्रसाद साम्बा लिम्बू, मोरङको २ ‘क’बाट पार्टीका प्रदेश सचिव गणेश उप्रेती र मोरङ ६ ‘क’बाट माओवादीका केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन्।
आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी–ज्वाईं हुन् । सुनसरी २ ‘क’ बाट इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। एमाले छाडेर माओवादीमा प्रवेश गरेलगत्तै उनले प्रदेशसभा सदस्यको टिकट पाएका हुन्। प्रदेशकी उपसभामुख सरस्वती पोखरेललाई माओवादीले सुनसरी ३ ‘क’ बाट उम्मेदवार बनाएको छ ।
धनकुटाको ‘ख’बाट निवर्तमान प्रदेश सांसद कुशुमकुमारी श्रेष्ठ र तेह्रथुमको ‘ख’ बाट केन्द्रीय सदस्य दुर्गा चापागाईं माओवादीका उम्मेदवार हुन्। ओखलढुंगाको ‘ख’बाट बाबुराम गौतमले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै संखुवासभा ‘क’बाट राजेन्द्र कार्की, उदपयुरको क्षेत्र नम्बर १ ‘क’बाट नारायण बुर्जा मगर र २ ‘क’बाट राजन किराती उम्मेदवार बनेका छन्।




प्रतिक्रिया