यी चर्चित नेता, जसलाई पार्टीले टिकट नदिएपछि चुनावी प्रतिस्पर्धाबाट आउट

यी चर्चित नेता, जसलाई पार्टीले टिकट नदिएपछि चुनावी प्रतिस्पर्धाबाट आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेताहरु यसपटकको निर्वाचनमा आउट भएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिएका छन् । निर्वाचनका लागि आइतबार प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभामा तीन सय ३० निर्वाचन क्षेत्रका लागि सयौँले उम्मेदवारी दिए । त्यसमा कतिपय चर्चित अनुहार देखिएनन् ।

नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, मन्त्री उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव, महेश आचार्य, लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायतले टिकट नै पाएनन् । सिंहले भने सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी नेकपा एमालेका नेता डा भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, घनश्याम भुसाल, थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेललगायतले पनि टिकट पाएनन् ।

भुसालले पार्टीबाट टिकट नपाएपछि रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, रामवीर मानन्धरले काठमाण्डु ७ र गंगा चौधरीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटासहित कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, हेमराज भण्डारीलाई पनि टिकट दिएन ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पनि यस निर्वाचनमा उम्मेदवारी दर्ता गराएनन् । उनले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आएका छन् । उनले आफ्नो क्षेत्र गोरखा २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सघाउने बताएका छन् । भट्टराईले आफ्नी छोरी मानुषीलाई काठमाण्डु ७ बाट उम्मेदवार बनाएका छन् ।

त्यसैगरी एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भवानीप्रसाद खापुङ, हीराचन्द्र केसीले पनि टिकट पाएनन् ।

निर्वाचन आयोगका अनुसार आइतबार भएको मनोनयनपत्रमा दर्ता प्रक्रियामा प्रतिनिधिसभातर्फ पुरुष दुई हजार दुई सय ६९ र महिला दुई सय ३३ गरी कूल दुई हजार पाँच सय दुई जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेशसभातर्फ पुरुष तीन हजार एक सय ३९, महिला दुई सय ९६ र एक अन्य गरी कूल तीन हजार चार सय ३६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या छ । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय छ, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ छ । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।