दाङमा एमाले भर्सेस गठबन्धन : तीनै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ नेताबीच कडा टक्कर

दाङमा एमाले भर्सेस गठबन्धन : तीनै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ नेताबीच कडा टक्कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले दुई महिला र एक पुरुषलाई उम्मेदवार बनाएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छ भने एक निर्वाचन क्षेत्रमा एक जना पुरुषलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै यता सत्ता गठबन्धनले दुई पुरुष र एक महिलालाई टिकट दिएको छ । यस्तोमा तीन वटै निर्वाचन क्षेत्रमा तीन महिला र तीन पुरुषबीच कडा टक्कर हुनेछ ।

दाङको निर्वाचन क्षेत्र नं १ मा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । यसपटक भने एमालेले उनलाई प्रत्यक्षतर्फ निर्वाचन लड्ने मौका दिएको छ ।

शान्ताले उक्त क्षेत्रमा आफ्नै पूर्व सहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्नेछिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका सहकारी विकास मन्त्रीसमेत हुन् । २०७४ सालको निर्वाचनमा उनले नेकपा एमालेका तर्फबाट यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए ।

थारू बाहुल्यता भएको उक्त क्षेत्रमा यी दुबै नेता चर्चित हुन् । राजनीतिक पृष्ठभूमी हेर्दा शान्ताभन्दा मेटमणि निकै अगाडि छन्। विगतमा चौधरीद्धयले एमालेमा रहेर थुप्रै सहकार्य गरेका थिए ।

कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना भर्न उनीहरू दुबैले सँगै मिलेर काम गरेका थिए । अहिले विगतका सहकर्मी बीचमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै रोचक रूपमा हेरिएको छ ।

निर्वाचन क्षेत्र नं.२ मा गठबन्धन दलबाट माओवादी नेतृ रेखा शर्मा र एमालेका नेता शंकर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।   शर्माले २०६४ सालको संविधान सभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन्। जतिखेर दाङमा पाँच निर्वाचन क्षेत्र थिए । उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो ।

पूर्व सभामुख कृष्णबहादुर महरा पछि सरेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो । आस्थाका दृष्टिकोणले दाङमा बसाई सरेर आएका रोल्पालीहरू अधिकांश माओवादी निकट छन् । त्यसको लाभ रेखालाई हुनसक्छ। यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो। त्यसैले उनलाई थप फाइदा हुनसक्छ । तर, उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउन सहज भने हुनेछैन ।

२०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्य मन्त्री बने । त्यो बेला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए । शंकरको गृहनगर तुलसीपुर उपमहानगरपालिकानै हो ।

पछिल्लो समय शंकरको पक्षमा दंगाली जनताको मनमा एउटा राम्रो छाप छ । उनकै पहलमा र उनी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सार्न भूमिका खेलेको जस उनैलाई छ । त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रुपमा प्रयोग गर्ने देखिन्छ।

गत वैशाख १० मा भएको स्थानीय तह निर्वाचको परिणामका कारण पनि शंकर उत्साहित छन्। गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जित निकालेको थियो। जे जस्तो भए पनि इमान्दार छबिकी रेखा र पार्टी भित्र कम्युनिष्ट आन्दोलन र जबजको ब्याख्याता मानिने शंकरबीचमा रोचक प्रतिस्पर्धा पक्कै हुनेछ।

निर्वाचन क्षेत्र नं. ३ मा कोमल वली र दीपक गिरिबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । कला क्षेत्रबाट उदाएकी कोमल २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन्। पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रिय सभा सदस्य समेत बनेकी थिइन्।

गायिका हुँदै रेडियो नेपालमा लामो समय समाचार वाचिकाको रूपमा काम गरेकी उनले राप्रपाबाट राजनीतिक यात्रा सुरू गरिन्। नाँच्नै गाउँदै आएकी कोमलले टिकट पाएपछि पार्टीमा वर्षौं दुःख गरेकाहरु त्यति खुसी भने छैनन्।

स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन्। तर, कोमललाई यहाँ सोचे जस्तै सहज भने छैन। उनका प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरि छन्। विगतमा एमालेकै शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन्।

गत स्थानीय तह निर्वाचनमा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने चार पालिकामध्ये तीन गाउँपालिकामा कांग्रेसले एकलौटी जित निकालेको थियो। सोही परिणामका आधारमा पनि गिरि बलियो देखिन्छन्।