काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएसँगै देउवा जसपासँग रूष्ट छन् ।
प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेका छन् । आयोगबाट समेत हटाउन सकिने परामर्श पाएपछि देउवाले सरकारमा रहेका जसपाका चार मन्त्रीलाई केही दिनमा हटाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवा निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्शमा छन् । गठबन्धनको बैठकमा अदालत र आयोगमा परामर्श गरेर निर्णय लिने देउवाले जानकारी दिएका थिए । आयोगसँगको परामर्शपछि देउवाले जसपाका मन्त्रीलाई हटाउने तयारीमा पुगेका हुन् ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा छन् ।
सत्ता गठबन्धनले भन्दा एमालेले बढी सिट दिने भएपछि जसपाले एमालेसँग तालमेल गरेको छ । एमालेले जसपालाई प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ४२ सिट दिएकाे छ । सत्ता गठबन्धनले भने जसपालाई १४ सिटको प्रस्ताव गरेको थियो ।




प्रतिक्रिया