ओखलढुंगामा रामहरी र यज्ञराजमध्ये को बलियो ?

ओखलढुंगामा रामहरी र यज्ञराजमध्ये को बलियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुई चर्चित युवा नेताबीचको प्रतिस्पर्धाका कारण ओखलढुंगाको माहोल तातेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसका नेता रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धाले ओखलढुंगाको माहोल तातेको हो ।

उनीहरु चिरपरिचित प्रतिद्वन्द्वी हुन् । अघिल्लो निर्वाचन ०७४ मा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए । अहिले पुनः प्रतिस्पर्धामा उत्रिएका दुवै नेताका लागि माओवादीको भूमिका निर्णायक हुने देखिन्छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग वाम गठबन्धन गरेको थियो । त्यसकारण सुनुवारले विजयी हासिल गरेका थिए । यसपटक भने माओवादीले सत्ता गठबन्धन बनाएर नेपाली कांग्रेसका खतिवडालाई सहयोग गर्दैछ ।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका खतिवडाले टिकट पाएनन् भने एमालेका सुनुवार माओवादी उम्मेदवारसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित गरेर सुनुवारले निर्वाचन क्षेत्र नम्बर १ र खतिवडाले निर्वाचन क्षेत्र नम्बर २ मा जिते ।

उक्त चुनावमा सुनुवारले प्रतिस्पर्धी भन्दा करिब ३ हजार र खतिवडाले प्रतिस्पर्धी भन्दा करिब ५ हजार बढी मत ल्याएर विजयी भएका थिए । ओखलढुंगाको चुनावी राजनीतिमा थोरै मात्रै मतान्तरले अगाडि–पछाडि हुने खतिवडा र सुनुवारका लागि बाह्य सहयोगसँग दलभित्रको आन्तरिक गुट राजनीतिले पनि उत्तिकै अर्थ राख्छ ।

२०७४ सालको निर्वाचनका समयमा ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र कायम भयो । साथै, एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गरेर वाम गठबन्धन बनाए । दोस्रो संविधानसभा निर्वाचनमा फरक–फरक निर्वाचन क्षेत्रबाट चुनाव जितेका खतिवडा र सुनुवार एउटै निर्वाचन क्षेत्र भएपछि एकअर्काका प्रतिस्पर्धी भए ।

त्यतिबेला तत्कालीन वामगठबन्धनका उम्मेदवार सुनुवारले कांग्रेसका खतिवडालाई ५ हजार २२३ मतले पराजित गरेका थिए । त्यतिबेला माओवादी केन्द्रको सहयोग पाएका सुनुवारले ३२ हजार ५८० मत ल्याएका थिए भने खतिवडा एक्लैले २७ हजार ३२७ मत ल्याएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ । साथै, योपटक माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेस उम्मेदवार अगाडि रहेको देखिन्छ । स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसले सबैभन्दा बढी ३२ हजार २८८ मत ल्याएको थियो ।

दोस्रोमा एमालेको २९ हजार ५९१ मत छ भने तेस्रोमा माओवादी केन्द्रको ६ हजार ९६१ मत आएको थियो । त्यसपछि जसपाको २ हजार १९४ मत, एकीकृत समाजवादीको ५२१ र राप्रपा नेपालको १४६ मत आएको थियो ।

ओखलढुंगामा एकीकृत समाजवादीले छुट्टै उम्मेदवार उठाएको छ । यस्तो अवस्थामा खतिवडालाई कांग्रेस र माओवादी केन्द्रको मात्रै मत पर्ने देखिन्छ । मत संख्याका हिसाबले धेरै नभए पनि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी उठाएपछि त्यसले खतिवडालाई अप्ठेरो पर्न सक्छ ।

यता एमालेका सुनुवारलाई उल्लेख्य मत आउने सम्भावना पनि देखिन्छ । ओखलढुंगामा जनजातिको बाहुल्यता छ । त्यसमाथि सुनुवार आफैपनि जनजाति हुन् । त्यस्तै उनलाई जसपाको मत पनि सहयोगी बन्नेछ । तर कांग्रेसको मत एमालेको भन्दा धेरै र माओवादी केन्द्रको मत जसपाको भन्दा धेरै छ ।

त्यस्तै ओखलढुंगामा प्रतिनिधिसभा सदस्य एक सिटका लागि एक स्वतन्त्र र नौ दल गरी १० जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी(नेपाल), मंगोल नेसनल अर्गनाइजेसन पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबाट नेताहरूले मनोनयन दर्ता गराएका छन् ।