काठमाडाैं– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुबेर कडायतले आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर घटनाकाे अनुसन्धान नयाँ शिराबाट हुने बताएका छन् ।
बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर पुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए। ‘घटनाको नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ’, उनले भने, ‘यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ।’ उनले आन्दोलनरत पक्ष रस्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।
बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति शुक्रबार बिहानदेखिबाट सामान्य बन्दै गएको छ। बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन्।
गृहमन्त्रालयले जिल्लामा नयाँ नेतृत्व पठाएको छ भने उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको छ। ‘नयाँ प्रमुख जिल्ला अधिकारी र गृहको छानविन समिति अनुसन्धानका लागि यहाँ आउँदैछ,’ प्रहरी उपरीक्षक कडायतले भने।
भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो। भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो।
आन्दोलनरत पक्षले निर्मला गृहकार्य गर्न गएको साथीको घरबाट नै अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएको छ। गत आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो।
आन्दोलनरत पक्ष र स्थानीयबासीले अभियुक्त विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएकाले उनीबाट सो घटना नघटेको र प्रहरीले वास्तविक हत्यारा लुकाउन षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन्।




प्रतिक्रिया