उम्मेदवारी फिर्ता लिएर किन गर्दैछ एमालेले कांग्रेसका बागीलाई समर्थन ?

उम्मेदवारी फिर्ता लिएर किन गर्दैछ एमालेले कांग्रेसका बागीलाई समर्थन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाएपछि उनको उम्मेदवारी फिर्ता भएको हो ।

चितवनका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले एमाले अध्यक्ष ओलीको हस्ताक्षरसहितको पत्र आएपछि उम्मेदवारी फिर्ता भएको बताए । न्यौपानेले उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ गठबन्धनविरुद्ध ‘बागी’ उठेका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

कोइरालाले मंगलबार राति बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । सो भेटपछि ओलीले कांग्रेस नेता कोइरालालाई सघाउने निर्णय लिएका हुन्। शेखर काेइराला  र गगन थापा समूहका कोइरालाले क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।

यसअघि यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने गरेका थिए । तर उनले छाडेर गोरखा गएपछि यहाँ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारी चुनावी मैदानमा छन्।

केन्द्रबाटै उम्मेदवारी फिर्ता लिन लगाएपछि चितवन एमालेमा असन्तुष्टि बढ्ने देखिन्छ । सो क्षेत्रमा एमालेका न्यौपाने नै लोकप्रिय उम्मेदवार रहेको र पार्टीले कांग्रेसका बागीलाई समर्थन गर्दा उल्टो हुने कतिपय नेताले बताएका छन् ।