काठमाण्डु – मधेश प्रदेश सरकारमा रहेका सत्ता गठबन्धन दलका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । गठबन्धनमै रहेर प्रमुख विपक्षी दल नेकपा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार केन्द्र सरकारमा रहेका जसपाका मन्त्रीहरु हटाएका थिए ।
त्यसपछि असन्तुष्ट बनेका मधेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, गठबन्धनमा आवद्ध दल नेकपा माओवदी केन्द्र, नेपाली कांग्रेस र नकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा नदिने भएका हुन् ।
मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । एमालेसँग तालमेल गरेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसको बदला लिने तयारीमा जसपा रहेको जसपाका एक नेताले जानकारी दिए ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट गठबन्धनका मन्त्रीहरुलाई हटाउने छलफल थालिसकेको ती नेताले बताए । केन्द्रबाट जसपाका मन्त्री हटाएसकेपछि कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।
गठबन्धनका मन्त्रीले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गर्ने तयारी समेत थालेको स्रोतले बतायो । मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।




प्रतिक्रिया