काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले मन परेका उम्मेदवारलाई मात्रै भाेट माग्ने रणनीति बनाएका छन् ।
तल्लो तहका सबै कमिटीबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका नेता रावलले पार्टीबाट टिकट पाउनेजति सबैलाई भोट माग्न नसक्ने रणनीति लिएका हुन् ।
अछाम–१ बाट टिकट नपाएपछि असन्तुष्ट बनेका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेमै बस्ने निर्णय सुनाए । तर, मंसिर ४ गते हुने निर्वाचनमा भने सूर्य चिन्ह लिएर चुनाव लड्ने मन परेका उम्मेदवारलाई मात्र भोट माग्ने बताए ।
उनले स्पष्ट भनेका छन्, ‘देश र जनताको सर्वोपरी हित र स्वाभिमानको रक्षा एवं सम्बद्र्धन गर्ने अवसरको रुपमा सदुपयोग गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा मन परेका उम्मेदवारलाई मात्रै भोट माग्छु ।’
अन्य पार्टीबाट आएर सूर्य चिन्ह लिएर चुनाव लडेका र एमालेले समर्थन गरेका सबै उम्मेदवारलाई भोट नमाग्ने उनको भनाई थियो । नेकपा एमालेले सत्ता गठबन्धनमा रहेको जसपासँग चुनावी तालमेल गरेको छ । जसपासँगको तालमेलाई सिद्धान्त विपरीत भनेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र पार्टी नीति विपरीत कदम चाल्दा त्यसको विरोध गरेकै कारण आफूले टिकट नपाएको निश्कर्ष निकालेका रावलले एमाले ओलीको मात्रै नभएको तर्क गरे ।
उनले भनेका छन्, ‘एमाले ओलीको मात्रै होइन । त्यसैले टिकट नपाउँदैमा पार्टी नै छोडेर जाने भन्ने हुँदैन । तर, आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र पार्टीको मति अनुरुप मैले पाइला चाल्ने छु ।’
पञ्चायतकालमा एमाले कार्यकर्तालाई प्रताडित गरेको भन्दै कमल थापाको त रावलले खुलेर विरोध जनाए । ‘होली वाइन’ पान गराउने एकनाथ ढकाल र कमल थापा एमाले उम्मेदवार भएकोमा आपत्ति जनाए ।
थापा, ढकाल र जसपाबारे पार्टीको निर्णयमा प्रश्न गर्दै भने, ‘के यस्तै पार्टी र व्यक्तिहरुलाई प्रश्रय दिएर समाजवाद आउँछ ? जनताको बहुदलीय जनवाद भनेको यही हो र ?।’
उनको यस्तो अभिव्यक्ति र अडानले एमाले निर्णय प्रभावित हुने सम्भावना देखिन्छ । तर रावलले पार्टी नीति, सिद्धान्त र देश हितका निम्ति आफू उभिएको तर्क गरेका छन् ।




प्रतिक्रिया