यसकारण डडेल्धुरामा देउवाको जित पक्का ! 

यसकारण डडेल्धुरामा देउवाको जित पक्का ! 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यस वर्ष पनि डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका छन् । मंसिर ४ गते हुने एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट देउवा चुनावी मैदानमा उत्रिएका हुन् ।

२०४७ सालदेखि डडेल्धुराबाट देउवा निरन्तर चुनाव जित्दै आएका छन् । यसपालि पनि देउवा कुनै पनि हालतमा चुनाव जित्ने रणनीतिमा लागेका छन् । जसअनुसार देउवाले तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका हुन् ।

पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए । त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो । देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए ।

२०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती दिएका थिए । तर, जित निकाल्न सकेनन् । मतान्तरमा पनि सुधार आउन सकेन । स्थानीय तहको पार्टीगत मतलाई मूल्याङ्कन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो । तर,  देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए ।

यसवर्ष भने देउवालाई माओवादीले सहयोग गर्ने भएको छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनका नतिजा हेर्दा डडेल्धुराबाट देउवाको जित निश्चित नै छ ।  डडेल्धुरामा दुई नगरपालिकासहित पाँच वटा गाउँपालिका छन् । जसमध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले पाँच वटा पालिकामा जित निकाल्दै डडेल्धुरामा पहिलो दल बन्न सफल भएको छ ।

यता नेकपा माओवादी केन्द्रले दुई पालिकामा जित निकाल्दा नेकपा एमालेले भने एक पालिकामा पनि  जित निकाल्न सकेन । नेपाली कांग्रेस छाडेका कर्ण मल्लले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए ।

कर्ण मल्लले नेकपा एमालेसँग चुनावी तालेमल गरेपछि डडेल्धुरामा स्थानीय तहको चुनावलाई चासोका साथ हेरिएको थियो । मल्लले नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै डडेल्धुरामा कांग्रेस कमजोर बेनेको आँकलनसमेत गरियो ।

तर, नेपाली कांग्रेसले भने स्थानीय तहको निर्वाचन अन्तर्गत डडेल्धुरामा आफ्नो शक्ति प्रर्दशन गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रर्दशन गर्दै डडेल्धुरामा झनै बलियो भएको पुष्टि गरेको छ ।

जसअनुसार अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुन सफल भयो ।

त्यस्तै गन्यापधुरा गाउँपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्यधिक बहुमतले निर्वाचित भएका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । त्यस्तै परशुराम नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भए भने उपप्रमुखमा माओवादी विजयी भएको छ ।

यता अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भयो। त्यसैगरी आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अब देउवालाई नेकपा माओवादी केन्द्रले साथ दिएपछि सात वटै पालिकामा स्थानीय तहको निर्वाचनमा खसेको मत देउवाले पाउने देखिन्छ ।

त्यस कारण स्थानीय तहको निर्वाचनको मत हेर्दा डडेल्धुराबाट देउवाको जित पक्का छ । अर्कोतर्फ नेकपा एमालेले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्न नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो । तर, शनिबार मात्रै नेकपा एमालेले डडेल्धुराले कर्ण मल्ललाई सहयोग नगर्ने निर्णय गरेको छ । यसले गर्दा देउवा डडेल्धुरामा झन सक्तिशाली देखिन्छन् । समग्रमा हेर्दा डडेल्धुराबाट यस वर्ष पनि देउवाले चुनाव जित्ने निश्चित नै छ ।