को बन्ला कर्णालीको मुख्यमन्त्री ?, दौडमा छन् एमालेबाट यी नेता

को बन्ला कर्णालीको मुख्यमन्त्री ?, दौडमा छन् एमालेबाट यी नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेसँगै कर्णालीमा मुख्यमन्त्री को भन्ने चर्चा सुरु भएको छ ।

निर्वाचन भएको करिब एक महिनापछि मात्रै कर्णालीले नयाँ मुख्यमन्त्री पाउने सम्भावना भएपनि निर्वाचन नजिकिदै गर्दा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा चर्चा र टिकाटिप्पणी सुरु भएको हो । विशेषगरि प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट भावी मुख्यमन्त्रीको चर्चा सुरु भएको छ ।

२४ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा एमालेबाट उम्मेदवार बनेका तीन नेताले मुख्यमन्त्री बन्ने आकांक्षा व्यक्त गरेका छन् । जसमा यामलाल कँडेल, गुलाबजंग शाह, र प्रदेश अध्यक्ष विनोद शाहलाई एमालेबाट मुख्यमन्त्रीको आकाङ्क्षीका रूपमा हेरिएको छ ।

सुर्खेत क्षेत्र नम्बर २ (क) बाट पुनः एमाले प्रदेश इञ्चार्ज कँडेल चुनावी मैदानमा छन् । ०७४ मै मुख्यमन्त्री बन्ने अपेक्षासहित प्रदेशमा निर्वाचन लडेका उनलाई पुनः मुख्यमन्त्रीकै दाबेदारका रूपमा हेरिएको छ ।

कँडेल ३ दशकअघि ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा आफूसँगै प्रतिस्पर्धामा होमिएका कांग्रेसका कालिप्रसाद शाक्यसँग प्रतिस्पर्धामा छन् । कँडेल ०७४ मा २१ हजार २८२ मतसहित विजयी भएका थिए ।

२ (ख) मा ताराकेशर गौतमलाई उम्मेदवार बनाएको छ । गौतम पनि एमालेभित्र आशा लाग्दा नेताको रूपमा परिचित छन् । प्रदेशसभा सदस्य निर्वाचन–२०७४ मा मुख्यमन्त्रीको आकांक्षा सहित निर्वाचन लडेका थिए ।

उनले जिते तर साविक नेकपामा कर्णाली प्रदेशको मुख्यमन्त्री पूर्वमाओवादीको भागमा परेपछि उनी मुख्यमन्त्री बन्न पाएनन् । साविक नेकपाबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । उनी मुख्यमन्त्री भएकै बेला कँडेलकै अगुवाइमा अविश्वासको प्रस्ताव पेस गरेको थियो । तर संसद्बाट अविश्वासको प्रस्ताव पास नभएपछि उनी मुख्यमन्त्री बन्न पाएनन् ।

यस्तै (ख) बाट भने एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह उम्मेदवार छन् । शाह तीनै व्यक्ति हुन् , जो ०४८ मा नेमकिपाबाट चुनाव लडेर पराजित बनेका थिए भने त्यसपछि एक पटक नेमकिपाबाट नै सांसद जितेका थिए । एमाले बनेपछि अहिलेसम्म लाभको पदमा पुग्न नसकेका उनी गणतन्त्र स्थापनापछि पहिलो पटक चुनावमा भाग लिँदैछन् ।

यस्तै निवर्तमान सांसद गुलाबजंग शाह पुनः प्रदेश सभाकै लागि उम्मेदवार बनेका छन् । एमाले प्रदेश सह–इञ्चार्ज समेत रहेका शाह सल्यान (ख) बाट उम्मेदवार बनेका हुन् । उनले यो पटक निर्वाचन क्षेत्र फेरबदल गरेका छन् । ०७४ मा (क) बाट १९ हजार ६५८ मतसहित विजयी भएका हुन् यो पटक सो क्षेत्रमा सुरक्षित हुने नदेखेपछि क्षेत्र बदलेका हुन् । उनी मुख्यमन्त्री बन्ने आकांक्षासहित उम्मेदवार बनेका हुन् ।