वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले काठमाण्डु महानगरपालिकाका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।

वडाध्यक्ष रिजालले काठमाण्डु निर्वाचन-७ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको स्मरण गराउँदै स्पष्टीकरणमा भनिएको छ, ‘स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाण्डु महानगरपालिकाको वडा नं १६ को वडा अध्यक्षले काठमाडौ महानगरपालिकाभित्र नेपाली कांग्रेस वा अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन ?’

पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदा रहँदै काठमाडौँ महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गर्नु नपर्ने हो ? भनी जवाफ माग गरिएको छ ।