वृद्धभत्ता खाने उमेरमा ‘सत्तामोह’, प्रधानमन्त्री र राष्ट्रपतिको दौडमा यी शीर्ष नेता

वृद्धभत्ता खाने उमेरमा ‘सत्तामोह’, प्रधानमन्त्री र राष्ट्रपतिको दौडमा यी शीर्ष नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कानुनी रुपमा एउटा निजामति कर्मचारीले ५८ वर्ष पुगेपछि अवकाश पाउँछ । राज्यले ५८ कटेपछि उनीहरुलाई सम्मान गर्दै आराम गर्न लगाउँछ । तर, देशको राजनीति भने औसत आयुसमेत कटाइसकेका बृद्धहरुको कब्जामा छ ।

अझै केहि वर्ष देशका शीर्ष बृद्ध नेताहरुले नै नेतृत्व ओगट्ने सम्भावना देखिन्छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा स्वयम् मैदानमा रहेर या नरहेर पनि सत्तामा आफ्नो प्रभुत्व कायम राख्न वृद्धभत्ता खाने बेला भएका नेताले कम्मर कसेका छन् । यतिमात्र होइन औसत आयुसमेत कटाइसकेका नेता सत्ता मोहमा लिप्त भएर चुनावी मैदानमा उत्रिएका छन् ।

राज्यको नीति नियम बनाउने नेताहरुको उमेर हदबन्दी हुनुपर्छ कि पर्दैन ? बेला बखत यस्ता प्रश्नहरु उठ्ने गर्छन । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने बहस पनि हुने गरेको छ । तर, ति बहसहरु निरर्थक छन् । किनभने नेपाली राजनीतिमा जरा गाडेर बसेका बृद्ध नेताहरुले नेतृत्व हस्तान्तरणको कुरा सुन्नै चाहँदैनन् नत कुनै पनि राजनीतिक दलभित्रका युवा नेताहरुले पुस्तान्तरणको क्रान्ति गर्नै सक्छन् ।

विडम्बना, ति सबै युवा एउटा न एउटा वृद्ध नेताको फेरो समाएर आफ्नो राजनीतिक भविष्य उज्ज्वल पार्न चाहन्छन् । त्यसैले पनि नेपालको भविष्य अझै केहि वर्ष बृद्धकै हातमा झुण्डिने सम्भावना छ । नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्राय वृद्धभत्ता खाने बेला भएकादेखि औसत आयुसमेत कटाइसकेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, एकीकृत समाजवादीकै नेता झलनाथ खनाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका यी नै नेताहरुको चंगुलमा नेपाली राजनीतिक घुमेको छ । यी बाहेक धेरै नेताहरु ६० कटेका छन् । उनीहरु नै नेपालको भविष्य कोर्न तम्तयार छन् ।

नेपाली कांग्रेसका सभापति समेतर रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रत्यक्ष चुनाव लड्दैछन् । उनी नेपालमा सबैभन्दा धेरै प्रधानमन्त्री भएका नेता हुन् । हाल ७६ वर्षका देउवा छैठौं पटक प्रधानमनत्री बन्ने दाउमा छन् । औषत आयु कटाइसकेका देउवा यसपटक पार्टीलाई सबैभन्दा ठूलो बनाएर छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उच्च मनोबल भएका नेता हुन् । हाल ७० वर्ष पुगेका अध्यक्ष ओली पुनः प्रधानमन्त्री बन्ने तरखरमा छन् । दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिसकेका छन् । पार्टीले पनि उनलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सार्दै झापा ५ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

वर्तमान गठबन्धनको तुलनामा कमजोर एमालेका अध्यक्ष ओली शारीरिक रूपमा पनि कमजोर छन् । तर, उनको मनोबल भने उच्च देखिन्छ ।
त्यस्तै नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाल हाल ६९ वर्षका भए । ६८ वर्षमा वृद्धभत्ता पाउने पछिल्लो प्रावधानअनुसार उनको पनि वृद्धभत्ता खाँदै निवृत्त जीवन यापन गर्ने समय हो । तर, उनी पनि सत्ता मोहका कारण दोस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसैले पनि उनी रौतहटबाट प्रत्यक्षबाट निर्वाचन लड्दै छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल ६७ वर्षका छन् । तर, अबको दुई महिनापछि उनी पनि बृद्ध हुँदैछन्, अर्थात ६८ वर्ष पुरा हुँदैछन् । कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डको पनि वृद्धभत्ता खाँदै रिटायर्ड जिवनमा रम्ने बेला हो । तर, उनी पनि सत्ता मोहमा लिप्त छन् ।

बेला–बेला आफू अझै एकपटक प्रधानमन्त्री बन्ने बताइरहेका उनी यसपटक चितवन छाडेर गोरखा–२ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । धेरै पटक मन्त्री तथा उपप्रधानमन्त्री भइसकेका कांग्रेस नेता रामचन्द्र पौडेल पुनः एकपटक जसरी पनि प्रधानमन्त्री वा राष्ट्रपति बन्ने दौडमा छन् । सन् १९४४ मा तनहुँमा जन्मिएका रामचन्द्रले तनहुँ १ बाट प्रतयक्षमा चुनाव लड्दैछन् ।

यसअघि प्रधानमन्त्रीको प्रतिस्पर्धामा १७ पटकसम्म प्रयास गर्दा पनि असफल भएका उनी आगामी निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्न चाहन्छन् । तर, त्यो सम्भावना भने कम छ । प्रधानमन्त्री बन्ने सम्भावना कम देखेको उनी हिसाकिताब मिले राष्ट्रपति बन्न चाहन्छन् । यसबारे बजारमा चर्चा पनि हुने गरेको छ ।

यता नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ७२ वर्षका भए । उनी हाल इलाम १ बाट चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा एमाले नेतृत्वको सरकारमा रहँदा एकपटक प्रधानमन्त्री भइसकेका खनाल अब भने राष्ट्रपति बन्ने दौडमा छन् । वर्तमान गठबन्धन कायम रहने र शक्ति सन्तुलन मिलेको खण्डमा राष्ट्रपति बन्नसक्ने सम्भवना देखिन्छ । तर, निश्चित भने छैन ।