प्रतिनिधिसभामा माओवादीका उम्मेदवारविरुद्ध बागी कति ?

प्रतिनिधिसभामा माओवादीका उम्मेदवारविरुद्ध बागी कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रकाे प्रतिनिधिसभातर्फका आधिकारीक उम्मेदवारविरुद्ध १३ जनाले बागी उम्मेदवारी दिएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि गठबन्धन दल भित्रैबाट ती बागी उम्मेदवारी परेका हुन् ।

गठबन्धनमा सिट बाँडफाट गर्दा प्रतिनिधिसभाका ४७ र प्रदेशसभाका १ सय ११ सिट माओवादीको भागमा परेको थियो । तर, प्रतिनिधिसभा  सदस्यमा माओवादीका आधिकारीक उम्मेदवारविरुद्ध माओवादी र कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका हुन् ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही उम्मेदवार रहेको कालीकोटमा पार्टीका प्रदेश कमिटी सदस्य काशीचन्द्र बराल बागी छन् ।
त्यस्तै माओवादीका कृष्णकुमार चौधरीले उम्मेदवारी दिएको कैलाली–३ मा माओवादी केन्द्रकै रमेश आचार्य र कांग्रेसका नवीनकुमार बोहरा बागी उठेका छन् ।

काठमाण्डु–१० माओवादी केन्द्रले अञ्जना विशंखेलाई उठाएको छ । तर, उनको विरुद्धमा कांग्रेसबाट टिकट पाएका राजेन्द्रकुमार केसी बागी उठेका छन् ।

झापा–२ मा माओवादीका हरिकुमार रानामगरले उम्मेदवारी दिएका छन् । तर त्यहाँ कांग्रेसका कुमार भट्टराई बागी छन् । सिन्धुपाल्चोक–१ मा माओवादीका माधव सापकोटाविरुद्ध कांग्रेसका रामकुमार जीसीले बागी उम्मेदवारी दिएका छन् ।

कपिलवस्तु–१ मा चन्द्रप्रकाश खनालविरुद्ध कांग्रेसका जिल्ला सदस्य ललित गुरुङ बागी उम्मेदवार बनेका छन् । बर्दिया–२ मा सुरेश पन्थविरुद्ध रामप्रसाद आचार्यले बागी उम्मेदवारी दिएका छन् ।

जनार्दन शर्माविरुद्ध कांग्रेस युवा नेता तारक केसी बागी उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई टिकट दिएको भए पनि पछि फिर्ता लिन लगाएको थियो । बैतडीमा नरेन्द्र कुँवरविरुद्ध कांग्रेसका केशबहादुर चन्द बागी उठेका छन् ।

त्यस्तै रौतहट–३ मा माओवादीका उम्मेदवार रवीन्द्र पटेलले प्रभु साहलाई समर्थन गरेका छन् । तर साहका लागि कांग्रेसका बागी उम्मेदवार ओमप्रकाश साह चुनौती बनेका छन् ।

कास्की–३ मा आधिकारिक उम्मेदवार रामजी बरालविरुद्ध माओवादीकै अनिता भुर्तेल उठेकी छन् । उनी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी हुन् ।

जुम्लामा माओवादीकी आधिकारिक उम्मेदवार गोमा कुँवरविरुद्ध माओवादीकै केन्द्रीय सल्लाहकार समिति सदस्य कलबहादुर रोकायाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ताको समय घर्केपछि रोकायाले कुँवरलाई समर्थन गरेका छन् ।

त्यस्तै काठमाण्डु–७ मा हँसिया–हतौडा चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी मानुषी यमी भट्टराईविरुद्ध माओवादी केन्द्रकै जानुका पौडेलले बागी उम्मेदवारी दिएकी छन् ।

२०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जितेको चितवन–३ मा माओवादीका भोजराज अधिकारी आधिकारिक उम्मेदवार हुन् । त्यहाँ कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला बागी उम्मेदवार बनेका छन् ।