यी हुन् सुदुरपश्चिमबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका चार महिला नेतृ

यी हुन् सुदुरपश्चिमबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका चार महिला नेतृ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ महिला नेतृ चुनावी मैदानमा उत्रिएका छन् । यस प्रदेशमा १६ निर्वाचन क्षेत्र छ ।

त्यहाँ प्रतिस्पर्धाका लागि कुल १३७ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये कञ्चनपुरमा बिना मगर र निरुदेवी पाल, कैलालीमा रञ्जिता श्रेष्ठ र डोटीमा गौरीकुमारी ओली गरी चार महिला नेतृ प्रत्यक्षतर्फको प्रतिस्पर्धामा छन् ।

माओवादीकी उम्मेदवार बिना मगर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएकी छन् । उनले एमालेका तारा लामासँग मुख्य प्रतिस्पर्धा गर्दैछिन् । मगर द्वारिकादेवी ठकुरानीपछि सुदूरपश्चिमबाट मन्त्री बन्ने दोस्रो महिला हुन् ।

२०७० मा दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी मगरले २०७४ मा कांग्रेस उम्मेदवार दिवानसिंह बिष्टलाई फराकिलो मतान्तरले पराजित गरेकी थिइन् । त्यस्तै एमालेकी उम्मेदवारद्धय पाल कञ्चनपुर–३ बाट र ओली डोटीबाट चुनाव लड्दैछन् ।

पालको प्रतिस्पर्धा कांग्रेसका रमेश लेखकसँग हुँदै छ । पहिलोपटक प्रत्यक्ष निर्वाचन भिड्न लागेकी एमालेकी पाल प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । यसअघि उनलाई एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको थियो । त्यसबेला उनी संसद्को महिला तथा सामाजिक समितिको सभापतिसमेत भएकी थिइन् ।

श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ बट उम्मेदवार बनेकी छन् । उनले कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्र रावलसँग प्रतिस्पर्धा गर्दैछिन् । टीकापुर घटनामा दोषी करार भएर जेल जीवन बिताइरहेका रेशम चौधरीकी श्रीमती श्रेष्ठ राजनीतिमा आएको धेरै भएको छैन ।

श्रेष्ठ श्रीमानको विरासत थाम्दै राजनीतिमा उचाइ प्राप्त गर्ने ध्याउन्नमा छिन् । तर उनलाई पटक–पटक सांसद र मन्त्रीसमेत भएका कांग्रेसका चौधरी र यसअघि टीकापुर नगरपालिकाको प्रमुख रहेका एमालेका रावललाई पराजित गर्नुपर्ने चुनौती छ ।

ओलीले गठबन्धनअन्तर्गतकै दल एकीकृत समाजवादीका प्रेम आलेसँग प्रतिस्पर्धा गर्दैछिन् । आले र ओली पूर्वसहमकर्मी हुन् । यसअघि नेकपा एमालेबाट दुई पटक सांसद बनिसकेका आले यसपटक ह्याट्र्कि गर्ने दाउमा छन् ।